image
image

अभिभावककै पहलबाट मात्र छुटाउन सम्भव

काठमाडौं,  बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरूको छ । कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा अभिभावकले आफ्ना बालबालिकालाई सावधानीपूर्वक मोबाइलको प्रयोग गर्न प्रेरित गर्नुपर्ने बाल मनोरोग विशेषज्ञ डा. गुञ्जन घोजूले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “इन्टरनेटमा अत्यधिक समय खर्चिनु भनेको पनि एक प्रकारको मानसिक रोग नै हो । धेरै इन्टरनेट वा फोन, ल्यापटपजस्ता उपकरण (ग्याजेट) मात्र चलायो र पठनपाठनतर्फ खासै ध्यान दिन सकेको छैन भने बालबालिकालाई मानसिक समस्या भएको भन्ने बुझ्नुपर्छ ।”

बालबालिकाले कुन अवस्थामा इन्टरनेट चलाइरहेको छ भन्ने बुझ्न जरुरी रहेको डा. घोजूको भनाइ छ । कुनै मानसिक तनावले पनि यस्ता प्रविधि बढी समयसम्म चलाउने गरिन्छ । उहाँले थप्नुभयो, “बालबालिकालाई के भइरहेको छ भन्ने कुरा अभिभावकले मायाले सोध्नुपर्छ ।”

अभिभावकको भनाइ बालबालिकाका लागि प्रेरणाको स्रोत हुन्छ । बालबालिकालाई आफूसँगै सिर्जनात्मक काम गर्न प्रेरित गर्न सकियो भने इन्टरनेट चलाउनमा ध्यान कम जाने उहाँको सुझाव छ ।

चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले घरबाहिर साथीभाइसँग घुलमिल गराउनुको साटो पछिल्ला दिनमा अभिभावकले मोबाइल दिएर टार्ने प्रवृत्ति हावी भएको बताउनुुभयो । उहाँले आफ्नो बच्चाले सानै उमेरमा मोबाइल चलाउन जान्नुलाई बच्चा ‘स्मार्ट’ भएको संज्ञा दिने अभिभावकहरूको पनि समाजमा कमी छैन । सामाजिक सञ्जालको संसार आफैँमा कृत्रिम भएको र त्यसमा देखाइने दृश्य तथा सामग्री बालबालिकामैत्री नहुने विज्ञको सुझाव छ ।
दृश्यमा देखाइने हत्या, हिंसाका चित्रले बालबालिकामा नजानिँदो तरिकाले असर पार्ने रघुवंशीले बताउनुभयो । उहाँले भन्नुभयो, “एकदेखि डेढ घण्टाभन्दा बढी समय मोबाइलमा बिताउनु वयस्कका लागि पनि खतरा हुन्छ भने बालबालिकाका लागि त झनै खतरा हुन्छ ।”

रघुवंशीका अनुसार मोबाइलको लत अल्कोहलको नशाजस्तै हो । मोबाइलबिना बच्चा हुर्काउन सकिँदैन भन्ने बाध्यताको भ्रमलाई अभिभावकले अब समयमै चिर्नुपर्ने उहाँको भनाइ छ ।

बालमनोविद् तारा अधिकारीले प्रविधिको स्वस्थकर प्रयोगका लागि बेलुकी खानाको समय र सुत्ने समयमा मोबाइल फोनको प्रयोग निषेध गर्न सुझाव दिनुभयो । उहाँले खाना खाने टेबल, सुत्ने कोठाबाट सकेसम्म मोबाइल र टीभी टाढा राख्ने बानी बसाल्नुपर्ने जानकारी दिनुभयो ।
-गोरखापत्रबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।