दोस्रो सेमिफाइनल खेल आज
एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ ।
वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन् । इंग्ल्यान्ड र डेनमार्कबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ।
आज इंग्ल्यान्ड र डेनमार्क जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।
इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।









