उद्यमी व्यवसायीलाई कालोसुचीमा राखेकोप्रति महासंघको गुनासो।
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले कोरोना कहरको अवस्थामा समेत बैंक वित्तीय संस्थाहरुले उद्यमी व्यवसायीलाई कालोसुचीमा राखेकोप्रति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग गुनासो पोखेको छ ।
महासंघको टोलीले सोमबार गभर्नर अधिकारीलाई भेटेर बारम्बार आग्रह गर्दा पनि उद्यमी व्यवसायीलाई कालोसुचीमा राख्ने क्रम नरोकिएको भन्दै असन्तुष्टि जनायो । कोभिडबाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि मौद्रिक नीतिमार्फत घोषणा गरिएका राहत प्याकेजहरू कार्यान्वयन नभएकोमा पनि महासंघका अध्यक्ष शेखर गोल्छा र अरु पदाधिकारीले गुनासो गरे ।
साथै, महासंघले राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने विषयहरु बुँदागतरुपमा गभर्नरलाई लिखितरुपमा बुझाएको छ । गोल्छाले कतिपय बैंक वित्तिय संस्थाले नीति र कार्यविधिमा उल्लेख भए बमोजिमको सुविधा प्रदान गर्न आनाकानी गर्दा कोभिड प्रभावित उद्योगी व्यवसायी थप समस्यामा पर्न गएको गुनासो गरे ।









