image
image

कोरोना महामारीका कारण  भेरी बबई आयोजना प्रभावित

कर्णाली २० जेठ: कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ । सीमित मजदुर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो चरणको निर्माणकार्य प्रभावित हुन पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रवक्ता एवं सिनियर डिभिजनल इञ्जीनियर (सिडिई) ईश्वरीप्रसाद तिवारीले निषेधाज्ञाकै बीच बाँध र विद्युत्गृहको निर्माणकार्य सञ्चालन भए पनि मजदुर र सामग्रीको अभाव रहेको बताए । “राष्ट्रिय गौरवको आयोजनाको काम नरोक्ने सरकारको नीतिअनुसार जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर हेडवक्र्स (बाँध) र पावरहाउस (विद्युत्गृह)जस्ता संरचनाको काम रोकिएको छैन”, उनले भने, “ठेकेदारले निर्माण सामग्री र मजदुरको अभाव देखाइरहेका छन्, हामीले काम नरोकिने गरी सामग्री व्यवस्थापन गर्न आवश्यक पहल गरिरहेका छौँ ।”

कोरोना महामारी फैलिएपछि झण्डै १०० मजदुर कार्यरत थिए । हाल मजदुरको संख्या घटेर ६० मा सीमित रहेको बताइएको छ । सिडिई तिवारीले आयोजना आसपासमा पर्ने जहरे, रामघाटलगायतका स्थानमा कोरोना सङ्क्रमण फैलिएपछि मजदुर काममा आउन छाडेको बताउनुभयो । लामो समयदेखिको निषेधाज्ञाका कारण बजारमा सिमेन्ट, रड (सरिया)को अभाव छ । निर्माण सामग्री उत्पादक कम्पनी बन्द हुनु र बजारमा मोटो तथा गुणस्तरीय सरियाको अभाव रहेकाले आयोजनाको काम प्रभावित हुने समस्या देखिएको छ ।


पहिलो चरणको सुरुङ (टनेल) निर्माणपछि आयोजनाले दोस्रो चरणको काम अघि बढाएको हो । सम्झौताअनुसार आर्थिक वर्ष २०७९-८० मा दोस्रो चरणअन्तर्गतका बाँध, विद्युत्गृहलगायतका संरचनाको निर्माण सम्पन्न गरिसक्नुपर्छ । चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच विसं २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाका अनुसार हालसम्म करिब ४५ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो चरणमा सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न गरेर आयोजनाले प्रशंसा बटुलेको थियो ।

भेरीको पानी बबईमा खसाल्न चिप्लेमा छ गेजसहितको बाँध (ब्यारेज) निर्माण गर्न लागिएको हो । एक सय १४ मिटर लामो र १४ मिटर अग्लो बाँधको निर्माण हुँदैछ । दोस्रो चरणका संरचना निर्माणमा रु छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुने बताइएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत सोही नगरपालिकाको हात्तीखालमा भेरीको पानी खसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । त्यस्तै लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ ।-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।