पोलको भाडा संगै बढ्यो इन्टरनेट र केबलको मूल्य ।
नेपाल विद्युत प्राधिकरणले आफ्नो अप्टिकल फाइबर र पोल प्रयोग गरेबापतको भाडा दोब्बर बढाएको छ । यसअघि ६६ केभी र सो भन्दा माथिको भोल्टेज स्तरको प्रशारण लाइनमा जडित फाइबरको आधारमा १६ हजार ४ सय रुपैँया शुल्क रहेकोमा उक्त शुल्क बढाएर ३२ हजार बनाईएको छ ।
प्राधिकरणको भाडा बढाएसगैँ इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको शुल्क बढ्ने बताएका छन् । पोलको शुल्कमा दोब्बरले बृद्धि भएपछि इन्टरनेटको शुल्क बढ्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले बताएका हुन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधिर पराजुली प्राधिकरणको पोल प्रयोग गर्दा लाग्ने शुल्क दोब्बरले बढ्दा सञ्चालन खर्चमा धेरै बृद्धि हुने बताउँछन् ।
पहिलाको तुलनामा दोब्बर सञ्चालन खर्च लाग्ने भएपछि स्वत: इन्टरनेटको शुल्कमा बृद्धि हुने उनी बताउँछन् । शुल्क बढ्ने भएपनि तत्काल यति नै बृद्धि हुन्छ भन्ने अवस्था नभएको उनको भनाई छ ।
इन्टरनेट मात्र होइन प्राधिकरणको निर्णयले टिभी हेर्दा तिर्नु पर्ने शुल्क समेत बढ्ने देखिन्छ । केबल टेलिभिजनहरुले प्राधिकरणको पोल प्रयोग गरी केबल सेवा विस्तार गर्ने गरेका छन्। प्राधिकरणले पोलको मूल्य बढाएपछि त्यसको असर टिभी हेर्ने शुल्कमा पनि पर्ने भएको हो ।









