प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत छ महिनामा २७ सय ६४ ले पाए रोजगारी
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा करिब तीन हजार जना युवालाई रोजगारी प्रदान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पुस महिनासम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई हजार सात सय ६४ जना युवाहरुले रोजगारी दिइएको छ । कार्यक्रमका निर्देशक सुमन घिमिरेले करिब छ महिनाको समयमा सो संख्यामा युवाहरुलाई रोजगारी दिएको बताए । रोजगारी दिएको अनुपातमा रोजगारी माग गर्नेको संख्या भनेको शतप्रतिशतभन्दा बढी रहेको उनको भनाइ छ ।
मन्त्रालयका अनुसार रोजगारी माग गर्नेको संख्या सात लाख ४३ हजार जनाएको छ । सात लाखले रोजागारी माग गर्दा सरकारले करिब तीन हजार जनालाई मात्र रोजगारी दिनसकेको छ । देशमा रोजगारीको माग अत्यधिक हुँदा समेत सरकारले सीमित रोजगारी प्रदान गर्दा युवाहरु बाध्य भएर वैदेशिक रोजगारीमा जान बाध्य छन् । श्रम तथा आप्रवासन विज्ञ डा.गणेश गुरुङले मुलुकमा पर्याप्त रोजगारी नहुँदा युवाहरुले बाध्यात्मक रुपमा काम खोज्न विदेश जानुपरेको बताए ।
केन्द्रका अनुसार पुससम्ममा एक लाख ५२ हजार जना युवाहरु वैदेशिक रोजगारीबाट फर्किएका छन् । यसरी कोरोना महामारीका कारण विदेशबाट फर्किने र श्रम बजारमा प्रवेश गरेका युवाहरुलाई रोजगारीमार्फत सम्बोधन गर्ने गरी भने हालसम्म सरकारले कुनै ठोस योजना अघि बढाउन सकेको छैन ।









