बेलायती सेना प्रमुखसँग प्रधान सेनापति सिग्देलको भेट
असोज २१। सेनापति महारथी अशोकराज सिग्देलले बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरसँग भेटवार्ता गर्नुभएको छ।
बेलायतको साताव्यापी औपचारिक भ्रमणका क्रममा बुधबार प्रधान सेनापति सिग्देलले बेलायती सेना प्रमुख वाकरसँग भेट गर्नुभएको हो। वाकरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ बेलायत भ्रमणमा जानुभएको हो।
भेटका क्रममा नेपाल र बेलायतबीचको लामो समयदेखिको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायती सेनाका अन्य उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुभएको छ। उहाँले गोर्खा सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै गोर्खा सैनिकप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गर्नुभएको थियो।
प्रधान सेनापति सिग्देल अक्टोबर ५ मा बेलायत प्रस्थान गर्नुभएको थियो। प्रधान सेनापतिको जिम्मेवारी सम्हालेपछि उहाँको यो पहिलो बेलायत औपचारिक भ्रमण हो।









