image
image
मातातीर्थ–चोभार १३२ केभी लाइन निर्माण सम्पन्न, उपत्यकाको विद्युत् आपूर्ति थप भरपर्दो हुने

मातातीर्थ–चोभार १३२ केभी लाइन निर्माण सम्पन्न, उपत्यकाको विद्युत् आपूर्ति थप भरपर्दो हुने

असोज १९। काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारणलाइनको निर्माण सम्पन्न भएको छ। थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गतको करिब ६ किलोमिटर लामो यो खण्ड निर्माण सम्पन्न भएको हो।

काठमाडौंको मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्म निर्माण गरिएको उक्त प्रसारणलाइनलाई शुक्रबारदेखि चार्ज गर्ने तयारी गरिएको छ। लाइन चार्ज भएपछि मातातीर्थ–चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ र नियमित रूपमा विद्युत् प्रवाह गर्न सकिनेछ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार मातातीर्थ–चोभार लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा विद्युत्को माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहज हुनेछ। साथै, उपत्यकाको विद्युत् आपूर्ति प्रणालीमा थप एउटा वैकल्पिक मार्ग उपलब्ध हुने भएकाले कुनै क्षेत्रमा समस्या आएमा विद्युत् आपूर्तिलाई वैकल्पिक रूपमा व्यवस्थापन गर्न सहयोग पुग्नेछ।

चोभार सबस्टेसनमा स्थानीय आपूर्तिका लागि ११ केभीका नौवटा फिडर रहेका छन्। यस सबस्टेसनबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक, एकान्तकुनालगायतका क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ। सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा भोल्टेजको गुणस्तर सुधार हुनुका साथै आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ।

हाल मुख्यतः त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसनमार्फत काठमाडौं उपत्यकामा आपूर्ति हुँदै आएको छ। मातातीर्थ–चोभार १३२ केभी लाइन सञ्चालनमा आएपछि उक्त विद्युत् चोभारतर्फ समेत पठाउन सकिने भएकाले उपत्यकाको प्रसारण प्रणालीमा थप लचकता आउनेछ।

यसैबीच, चोभार सबस्टेसनदेखि चक्रपथ हुँदै ललितपुरको लगनखेल (पाटन) सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारणलाइन निर्माणाधीन छ। पाटन सबस्टेसनलाई समेत १३२ केभी स्तरमा स्तरोन्नति गर्ने काम अघि बढाइएको छ।

ललितपुरको खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा स्थानीय अवरोधका कारण थानकोट–चापागाउँ–भक्तपुर प्रसारणलाइनको मूल रुट निर्माण प्रभावित हुँदै आएको छ। त्यसैले चोभार हुँदै वैकल्पिक संरचना विकास गरेर काठमाडौं उपत्यकाको विद्युत् प्रसारण प्रणालीलाई थप मजबुत बनाउने प्रयास भइरहेको छ।

मातातीर्थ–चोभार लाइन सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको बढ्दो विद्युत् माग व्यवस्थापन, भोल्टेज सुधार र आपूर्ति प्रणालीको विश्वसनीयता बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।