image
image
दशैं–तिहारलाई लक्षित गर्दै काठमाडौंमा ३,५०६ प्रहरी परिचालन, ड्रोन र सीसीटीभीबाट निगरानी

दशैं–तिहारलाई लक्षित गर्दै काठमाडौंमा ३,५०६ प्रहरी परिचालन, ड्रोन र सीसीटीभीबाट निगरानी

असोज १९। नजिकिँदै गरेका दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै काठमाडौं प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका समयमा बढ्ने भीडभाड, यात्रुको आवागमन तथा चोरी, ठगी, लुटपाटलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौं जिल्लामा ३ हजार ५०६ जना प्रहरी कर्मचारी परिचालन गरिने भएको छ। जोखिम बढेमा माथिल्लो निकायबाट थप प्रहरीसमेत परिचालन गरिने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चाडपर्वका समयमा घरहरू खाली हुने, बजारमा भीड बढ्ने तथा आर्थिक कारोबारसमेत बढ्ने भएकाले चोरी, पकेटमारी, झोला तान्ने, लुटपाट, ठगी र नक्कली नोटको कारोबारजस्ता जोखिम बढ्न सक्छन्। त्यसैगरी जुवातास, लागू पदार्थ मिसाएर ठगी गर्ने तथा सार्वजनिक स्थानमा दुर्व्यवहार गर्ने गतिविधिलाई पनि सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको छ।

सुरक्षा योजनाअन्तर्गत पशुपतिनाथ, गुह्येश्वरी र दक्षिणकालीलगायत धार्मिक स्थल तथा न्यूरोड, असन, कोटेश्वर र कलंकीजस्ता भीडभाड हुने क्षेत्रलाई संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको छ। सपिङ मल, सुनचाँदी पसल, बैंक तथा वित्तीय संस्था, एटीएम, सरकारी तथा निजी कार्यालय र बजार क्षेत्रमा समेत विशेष निगरानी बढाइनेछ।

प्रहरीले सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै सीसीटीभी, ड्रोन तथा तालिमप्राप्त कुकुर परिचालन गर्ने भएको छ। प्रवेश नाका तथा संवेदनशील स्थानमा चेकजाँच बढाइनेछ भने सादा पोशाक र बर्दी दुवैमा प्रहरी परिचालन गरिनेछ। प्रहरीले चाडपर्वका लागि २२ प्रकारका ड्युटी निर्धारण गरेको जनाएको छ।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले कलंकी, कोटेश्वर, गौशाला, गोंगबु बसपार्क, बल्खु, नागढुंगा, बालाजु बाइपास, सीतापाइला र जोरपाटीलगायतका स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने तयारी गरिएको छ। यसबाट यात्रु तथा सर्वसाधारणले आवश्यक सुरक्षा तथा जानकारीसम्बन्धी सहयोग लिन सक्नेछन्।

त्यस्तै, दशैंका समयमा बाख्रा तथा खसीबोका बजारमा बढ्ने भीड, सवारी चाप र सम्भावित दुर्घटनालाई समेत प्रहरीले सुरक्षा योजनामा समेटेको छ। ट्राफिक व्यवस्थापन तथा टिकट काउन्टरमा हुने ठगी नियन्त्रणमा पनि विशेष निगरानी गरिनेछ।

प्रहरीले चाडपर्वको समयमा सर्वसाधारणलाई पनि आफ्नो घर, पसल तथा आर्थिक कारोबारको सुरक्षामा सावधानी अपनाउन आग्रह गरेको छ। भीडभाडमा बहुमूल्य सामान तथा नगद बोक्दा सचेत रहन, अपरिचित व्यक्तिले दिएको खानेकुरा नलिन र कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।

दशैं–तिहारलाई सुरक्षित, व्यवस्थित र अपराधरहित बनाउन काठमाडौं प्रहरीले जनशक्ति, प्रविधि र विशेष निगरानीलाई एकसाथ परिचालन गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।