नेपालमा नयाँ पक्षी प्रजातिको अभिलेख : धनुषामा पहिलोपटक Collared Kingfisher भेटियो
असोज १९। नेपालमा पहिलोपटक Collared Kingfisher (Todiramphus chloris) अर्थात् सेतो घाँटी भएको एक विशेष प्रजातिको माछा खाने चरा अभिलेख भएको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित कुँवा मंगलैया फाटक क्षेत्रमा यो चरा देखिएपछि नेपालमा अभिलेख भएका पक्षी प्रजातिको संख्या ९०४ पुगेको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ।
स्थानीय पक्षीप्रेमी अनिल मण्डलले सेप्टेम्बर २९ तारिख साँझ करिब ५ः३० बजे खेतबारीबीच विद्युत्को तारमा बसेको अवस्थामा उक्त चराको तस्बिर खिचेका थिए। उनले भोलिपल्ट उक्त तस्बिर र विवरण नेपाल बर्ड रेकर्ड कमिटीलाई पठाएका थिए। तस्बिरको अध्ययन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय पक्षी विज्ञहरूसँगको परामर्शपछि कमिटीले यसलाई नेपालका लागि नयाँ पक्षी अभिलेखका रूपमा पुष्टि गरेको हो।
Collared Kingfisher मुख्यतः समुद्री तट, तटीय क्षेत्र तथा जलाधार आसपास पाइने चरा हो। यसको वैज्ञानिक नाम Todiramphus chloris हो र यो Alcedinidae परिवारमा पर्छ। धनुषामा भेटिएको चरा Todiramphus chloris humii उपप्रजातिसँग सम्बन्धित रहेको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष तुलसी सुवेदीले बताएका छन्।
नेपालजस्तो भूपरिवेष्ठित मुलुकमा समुद्री तथा तटीय क्षेत्रमा बढी पाइने यो चराको अभिलेख हुनु निकै दुर्लभ घटना मानिएको छ। विज्ञहरूका अनुसार यो चरा बंगलादेशको सुन्दरवन वा भारतको पश्चिम बंगाल आसपासबाट गंगा–ब्रह्मपुत्र नदी प्रणाली हुँदै भौँतारिँदै नेपाल आइपुगेको हुनसक्छ। मौसम, तीव्र हावा वा आँधीका कारण आफ्नो सामान्य मार्गबाट विचलित भएर पनि यो धनुषासम्म आएको हुनसक्ने अनुमान गरिएको छ।
यस नयाँ अभिलेखले नेपालमा रहेको पक्षी जैविक विविधताको थप प्रमाण प्रस्तुत गरेको छ। स्थानीय पक्षीप्रेमी तथा सर्वसाधारणले खिचेका तस्बिर र उपलब्ध गराएका सूचनाले वैज्ञानिक रूपमा नयाँ प्रजाति पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याउने गरेको विज्ञहरूको भनाइ छ। पछिल्ला वर्षहरूमा पनि विभिन्न स्थानबाट नयाँ पक्षी प्रजातिका अभिलेख थपिँदै आएका छन्।
नेपालको भौगोलिक तथा प्राकृतिक विविधताका कारण यहाँ विश्वका विभिन्न भागबाट आउने चराहरूका लागि









