आजदेखि आधा भरिएको ग्यास सिलिण्डर मात्र किन्न पाइने, कति पर्छ मूल्य ?
काठमाडौं । अब सरकारले खाना पकाउने ग्यास सिलिण्डर आधा तौलको मात्रै बजारमा उपलब्ध गराउने भएको छ । नेपाल आयल निगमले आजदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको हो ।
भारतको इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पर्याप्त परिमाणमा ग्यास उपलब्ध गराए पनि उपभोक्ताले बढी संख्यामा ग्यास भण्डारण गर्न थालेपछि सरकारले आधा तौल अर्थात् ७.१ केजी सिलिण्डर उपलब्ध गराउने भएको हो ।
बिहिबार नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णय समितिले बिहीबार नै सबै सदस्यहरूलाई जानकारी गराएको समितिका एक सदस्यले जानकारी दिए ।
आधिकारिक रूपमा नियमले यो निर्णय सार्वजनिक गरिसकेको छैन । भारतबाट माग अनुसार नै खाना पकाउने ग्यास आयात भइरहेको छ । तर पनि बजारमा कृत्रिम अभाव देखिएपछि निगमले यस्तो निर्णय गर्नुपरेको हो । अहिले पूर्ण तौल (१४.२ किलो) को सिलिण्डरको मूल्य १९१० रुपैयाँ पर्छ भने आधी तौलको सिलिण्डरको मूल्य ९५५ रुपैयाँ पर्नेछ ।
निगमका अनुसार फागुन २६ सम्ममा भारतबाट साढे ४५ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ । गत फेब्रुअरी (माघ १ देखि फागुन २८ सम्म) महिनामा नेपालमा ५० हजार ३ सय मेट्रिक टन खपत भएको आधारमा यो मार्च महिना (फागुन १ देखि चैत १७ सम्म) लाई ५२ हजार मेट्रिक टनको कोटा तोकेर उक्त परिमाणमा ग्यास उपलब्ध गराइदिन इण्डियन आयल कर्पोरेशनलाई जानकारी गराइएको निगमले जनाएको छ ।
आधी तौलको सिलिण्डरको बाजारीकरण यो पहिलो पटक भने होइन, यसअघि नाकाबन्दीको समयमा पनि सरकारले आधी तौलको सिलिण्डरको बाजारीकरण गराएको थियो ।









