हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनः रास्वपाले बनायो तीन ऐतिहासिक रेकर्ड
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक रेकर्ड बनाएको छ । प्रत्यक्षतर्फ निर्वाचित सिट सङ्ख्या र प्रतिशतको आधारमा रास्वपाले रेकर्ड कायम गरेको हो ।
हालसम्म आयोगको आधिकारिक मतपरिणाम अनुसार रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२४ सिटमा जित हासिल गरिसकेको छ भने एउटा सिटमा अग्रता कायम गरेको छ । एउटै पार्टीबाट प्रत्यक्षतर्फ यति धेरै सङ्ख्या निर्वाचित भएको इतिहासमा पहिलोपटक हो ।
यसअघि २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादीले १२० सिटमा जित हासिल गरेको थियो । तर, त्यतिबेला नेपालमा २४० वटा निर्वाचन क्षेत्र रहेको थियो । अहिले १६५ निर्वाचन क्षेत्रमै रास्वपाले त्योभन्दा धेरैको रेकर्ड बनाएको हो ।
प्रत्यक्षतर्फ निर्वाचित प्रतिशत पनि रास्वपाले बनाएको अर्को रेकर्ड हो । १२१ सिटमा जित निकाल्नु भनेको ७३.३३ प्रतिशत सिट जित्नु हो, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
यसअघि २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले १०९ मध्ये ७४ सिटमा जित हासिल गरेको थियो । यो ६७.८९ प्रतिशत बराबर हो । त्यसपछिका कुनै पनि चुनावमा त्योभन्दा राम्रो परिणाम प्राप्त भएको छैन ।
त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीमार्फत एउटै पार्टीले सबैभन्दा धेरै मत ल्याएको यो पहिलो पटक हो । अहिलेसम्म गणना भएको मत अनुसार रास्वपाले ४० लाख मत कटाएको छ । जबकि यसभन्दा अघि २०७४ सालमा एमालेले ३१ लाख ७३ हजार मत ल्याएको थियो ।
२०६४ सालमा माओवादीले ३१ लाख ४४ हजार, २०७० सालमा कांग्रेसले २४ लाख १८ हजार र २०७९ सालमा एमालेले सबैभन्दा धेरै २७ लाख ९१ हजार मत ल्याएको थियो ।









