कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग अनुरोध छ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग अनुरोध गरेका छन । दशौँ निर्वाचन दिवसका अवसरमा आज निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा उनले मत सर्वेक्षणलाई निर्वाचन आचारसंहिताले निषेध गर्ने भएकाले यस्ता घटना भए कारबाही गरिने बताए ।
निर्वाचनका समयमा सत्य समाचारलाई झुट र झुट समाचारलाई सत्य बनाएर प्रस्तुत गर्नसक्ने भएकाले पनि सचेत हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आग्रह गरे । “राजनीतिक दलका समर्थकले पनि निर्वाचन आचारसंहिता पालना गरेर निर्वाचन गराउनतिर लाग्नुस्, सामाजिक सञ्जाल प्रयोग गरेर कसैलाई मानमर्दन नगरौँ, सत्य र तथ्यमा आधारित भई काम गरौँ, निर्वाचनमा सामाजिक सञ्जाल पेचिलो विषय भएकाले यसको प्रयोग गर्दा ध्यान दिऔँ”, उनले भने।
कसैको दबाब र प्रभावमा नपरी सही प्रतिनिधि छान्न उहाँले मतदातालाई पनि आह्वान गरे । सुरक्षाको बैठक गरेर निर्वाचन सुरक्षाका विषयमा नीति र रणनीति तय गर्न लागिएको जानकारी पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सो अवसरमा गराएका थिए ।









