अरब सागरमा अमेरिकाले खसाल्यो उडिरहेको इरानी ड्रोन
काठमाडौं । अमेरिकी सेनाले अरब सागरमा अमेरिकी विमानवाहक जहाज यूएसएस अब्राहम लिंकन तर्फ आक्रामक रूपमा नजिकिँदै गरेको एउटा इरानी ड्रोनलाई गोली हानेर खसालेको छ । अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, मंगलबार जहाजबाट उडेको एफ–३५सी स्टेल्थ लडाकु विमानले आत्मरक्षाका लागि उक्त ड्रोनलाई ध्वस्त पारेको हो ।
घटना हुँदा जहाज इरानको तटबाट करिब ५०० माइल टाढा थियो । ड्रोनको उद्देश्य स्पष्ट नभएको सेनाले बताएको छ । यस घटनामा कुनै अमेरिकी सैनिक घाइते नभएको र जहाजमा क्षति पनि नपुगेको बताइएको छ ।
यो घटना अमेरिका र इरानबिच तनाव बढिरहेका बेला भएको हो । अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप मजबुत बनाइरहेको छ । इरान आफ्नो आणविक कार्यक्रम सीमित गर्ने सम्झौतामा आएन भने सैन्य कारबाही हुन सक्ने चेतावनी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइसकेका छन् । उनले यसअघि इरानमा सरकारविरोधी प्रदर्शन दमनका रोक्न हस्तक्षेपको गर्ने धम्की पनि दिएका थिए ।
ड्रोन खसालिएपछि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले फक्स न्युजसँग कुरा गर्दै अमेरिका र इरानबिच यसै साता तय भएका वार्ता यथावत् रहेको बताइन् । ट्रम्पले पहिला कूटनीतिलाई प्राथमिकता दिए पनि सैन्य विकल्प सधैँ खुला रहने उनले स्पष्ट पारिन् ।









