प्रदर्शनी मार्गमा राजनीतिक प्रदर्शन रोक्न परमादेशको माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौँ - प्रदर्शनी मार्गमा शिक्षण संस्था र काठमाडौँ मोडल अस्पतालजस्ता संवेदनशील स्थानमा राजनीतिक प्रदर्शन नगर्न परमादेशको माग गर्दै कानुनका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
रिट निवेदनमा भनिएको छ कि प्रदर्शनी मार्गमा पर्ने पद्मोदय माध्यमिक विद्यालय, वाल्मीकि विद्यापीठ, रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पस लगायतका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनमा र काठमाडौँ मोडल अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको उपचारमा गम्भीर असर परेको छ। प्रदर्शनका कारण सडक अवरुद्ध हुँदा विद्यार्थीहरूको स्वच्छ वातावरणमा पढ्न पाउने हक र बिरामीहरूको उपचार गर्न पाउने हकको उल्लंघन भएको दाबी गरिएको छ।
रिट निवेदनमा भनिएको छ कि प्रदर्शनी मार्गमा हुने राजनीतिक प्रदर्शनले नजिकैको पुरानो बसपार्कबाट लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनहरू पनि छुट्ने गरेको छ। यसले विद्यार्थीहरूको कक्षा र बिरामीहरूको उपचारमा अवरोध पुर्याएको छ।
रिट निवेदनमा भनिएको छ कि प्रत्येक नागरिकलाई भेला हुने र आफ्ना विचार व्यक्त गर्ने अधिकार भए पनि, त्यो अधिकार प्रयोग गर्दा अरूको अधिकार र सार्वजनिक व्यवस्थामा खलल पुग्न दिनु हुँदैन। प्रदर्शनी मार्गजस्तो संवेदनशील क्षेत्रमा गरिएको यस्तो प्रदर्शनले शैक्षिक गतिविधिमा संलग्न व्यक्तिहरूको निर्बाध आवागमनको अधिकारलाई हनन गरेको छ।
रिट निवेदनमा आगामी दिनमा यदि यसरी उक्त क्षेत्रमा प्रदर्शन गर्ने अनुमति दिइरहने हो भने, यसले त्यस क्षेत्रका विद्यार्थीहरूको पठनपाठनमा गम्भीर बाधा पुग्ने र बिरामीहरूको उपचारमा असहज परिस्थितिको सामना गर्नु पर्ने उल्लेख गरिएको छ।
रिट निवेदनमा प्रदर्शनी मार्ग र काठमाडौँ उपत्यकाका अन्य कुन पनि शैक्षिक संस्था तथा अस्पताल नजिक राजनीतिक, गैरराजनीतिक, विरोध प्रदर्शन, साङ्गीतिक, मेला वा अन्य गतिविधि आयोजना गर्न रोक लगाउन परमादेशको माग गरिएको छ।









