युवा जगतको चौतर्फी विकासमा हरसम्भव सहयोग गर्न सरकार कट्टीबद्ध : प्रधानमन्त्री ओली
काठमाडौं । युवा जगतको चौतर्फी विकासमा हरसम्भव सहयोग गर्न सरकार कट्टीबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय सेवा दलको १९ सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाको विकासले मात्रै देश विकास हुने भएकाले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टीबद्ध रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्य अंकित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाहरूको खाँचो राष्ट्रलाई रहने बताए । उनले राष्ट्रिय सेवा दल कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको भन्दै यसमा सहभागीहरूको संख्या बढाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले सर्वोत्कृष्ट समाज निर्माणका लागि युवा अवस्थामा नै आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै राष्ट्रप्रतिको कर्तव्य बुझ्ने नागरिक बन्ने कार्य पनि शुरु गर्नुपर्ने बताए ।









