image
image
गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुन्छ : गृहमन्त्री लेखक

गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाको क्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका जटिलता संसदको आगामी हिउँदे अधिवेशनबाटै सम्बोधन गर्ने  प्रतिबद्धता जनाएका हुन् ।

उनले भने,  ‘सरकारले  गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसहित नेपालको विद्यमान कानुनमा  रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा अध्यागमन, मालपोत, कम्पनि, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत छलफलपछि विभिन्न एक दर्जन ऐन संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौँ, यसै अधिवेशनबाट अधिकांश समस्या समाधान हुन्छ ।’

त्यसअघि संघका अध्यक्ष डा केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थालेपनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा नागरिकता लिइसकेका र लिने क्रममा रहेका गैरआवासीय नेपालीहरु निराश भएको बताएपछि गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता जनाएका हुन् ।

भेटमा गैरआवासीय नेपाली नागरिकता नहुँदा नेपालमा लगानीका लागि पनि समस्या पर्ने भन्दै अध्यक्ष केसीले ध्यानाकर्षण गराएका थिए । जवाफमा गृहमन्त्री लेखकले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि संशोधन गर्नुपर्ने झण्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको जानकारी दिएका थिए । 

‘सरकारले नै लगानीका लागि आउनुस् भन्नुपर्नेमा तपाईहरु आफैँ आफ्नो देशमा लगानी गछौँ भनेर आउनुभएको छ, नेपालको विद्यमान कानुनमा  रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौं,’ उनले भने । 

उक्त अवसरमा  अध्यक्ष केसीले पुस्तौंदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा बसेका नेपाली मूलका व्यक्ति र परिवारलाई नेपाली भएको पहिचान खुल्ने परिचयपत्र सम्बन्धमा पनि ध्यानाकर्षण गराएका थिए । जवाफमा गृहमन्त्री लेखकले भने,  ‘यस सम्बन्धमा छलफल भइरहेको छ, गैरआवासीय नेपालीको परिभाषा भित्र नअटाएका नेपाली मूलका विदेशी नागरिकका लागि बेग्लै परिचयपत्र दिन कानून मन्त्रालयले गृहकार्य नै थालेको छ, सरकार यसमा सकारात्मक छ ।’

सो  अवसरमा  संघका अध्यक्ष केसीसहित, सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना, सल्लाहकार गोविन्दप्रसाद गौतम, आइसीसी सदस्य सञ्जु पौडेल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, संघका तर्फबाट गैरआवासीय नेपाली नागरिकताका फोकलपर्शन सरोज दाहाललगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।