image
image

बाख्रापालनले फेरियो महिलाको दैनिकी

रामपुर-

‘बाख्रा पाल्छु राम्रै छ बजार
दुईटा बोका बेच्यो कि तीस हजार
चिन्ता छैन केही
मलाई कोरिया नि यहीँ, मलाई हंकङ पनि यहीँ, मलाई अष्ट्रेलिया नि यहीँ’।

गायक पशुपति शर्माको यो गीतले भनेझैँ निस्दी गाउँपालिका वडा नं ५ बहपुर बस्ने खुमीसरा रानाले एउटै खसी रु ३७ हजारमा बिक्री गरिन् । आफूले पालेको खसी यतिधेरै मूल्यमा बिक्री गर्न पाउँदा उनी अहिले दंग छिन् ।

दुई चार पैसाका लागि सधैं श्रीमान्को भरपर्न बाध्य राना अहिले आफैंले पालनपोषण गरेको एकै खसीबाट रु तीस हजार नगद हातपार्न पाएपछि उनका खुसीका आासु झरेका छन् ।

उनको घरमा अहिले ६ वटा माउसहित २१ वटा बाख्रा छन् । यसभन्दा अघिल्ला वर्षमा उनले बाख्रा बिक्रीबाटै रु दुई लाखभन्दा बढी आम्दानी गरेकी थिइन् । रानाले दुई वटा माउ बाख्राबाट व्यवसाय सुरु गरेकी हुन् । अबका दिनमा बिगतको भन्दा दोब्बर बढी आम्दानी हुने उनी बताउँछिन् ।

‘बाख्रा पाल्न थालेपछि हातमा पैसा छैन खाली, एउटै खसीलाई पर्छ रु ३० हजार भन्दा बढी, यो व्यवसायबाट म र मेरो परिवार सन्तुष्ट छौँ, पाँच जनाको परिवारको लालनपालन राम्रोसँग चलेको छ’ उनले भनिन् । खोर व्यवस्थापन र घाँसपातको सुबिधा राम्रो भएपछि उनलाई व्यवसायमा थप उर्जा मिलेको छ ।

त्यस्तै सोही ठाउँकै उर्मिला सुनारीले गत साउनदेखि हालसम्ममा मात्रै १८ वटा खसी बाख्रा मात्रै बिक्री गरिन् । सो बिक्रीबाट करिब रु तीन लाख आम्दानी लिन पाउँदा उनलाई व्यवसायमा थप उत्साह मिलेको छ ।

सुनारीले घरमा पालेको खसी बढीमा ४५ किलोसम्म बिक्री गर्न सफल भएकी छिन् । उनको घरमा हाल सातवटा माउ बाख्रासहित २५ वटा खरी जातका बाख्रा छन् । गत आर्थिक वर्षमा करीब रु साढे दुई लाख बराबरको खसी बिक्री गरेकी सुनारीले यसवर्ष गतवर्षको तुलनामा दोब्बर कमाई गर्ने लक्ष्यका साथ व्यवसायमा लागेकी छिन् ।

सुन्तला खेतीमा संलग्न रहेको सुनारीको परिवार अहिले बाख्रापालनमा मात्रै आश्रित बनेको छ । उनी भन्छिन्, ‘बाख्रामा खासै लगानी गरिएको छैन तर आम्दानी भने नसोँचेको भएको छ, पहिला खाली जग्गामा सुन्तला खेती गरेका थियौँ, त्यसबाट पनि आम्दानी राम्रै थियो तर सुन्तलाको तुलनामा बाख्राबाट अझ बढी आम्दानी हुन थालेपछि अहिले बाख्रापालनलाई मुख्य आयस्रोत बनाएर श्रीमान् श्रीमती नै यस व्यवसायमा आबद्ध छौँ ।’

विसं २०७१ मा हेफर इन्टरनेशनल नेपालले गाउँका महिलालाई बाख्रापालनमा लगानी गरिदिएपछि बाख्रापालनमा महिलाहरु लागेका हुन् । व्यवसायउन्मुख हुदै गरेका महिलाहरुलाई थप प्रोत्साहन गर्न विसं २०७३ मा गल्धा सामाजिक महिला सहकारी गठन भएपछि गाउँभरी नै बाख्रापालन गर्ने महिलाको लहर छायो ।

यस सहकारीले ग्रामीण भेगका महिलालाई समेट्दै २८ वटा उपसमूह बनाएर व्यवसायमा सहयोग गरिरहेको छ । संस्थाले वार्षिक रु दुई करोड ५१ लाख बराबरको कारोबार गर्दै आइरहेको छ ।

बाख्रापालनमा महिलालाई उत्साहित बनाउँदै गाउँ गाउँमै पुगेर खसी बोका खरिद गरी बजार पठाउने गरेपछि उनीहरु बख्रापालनमा आकर्षित हुँदै गएका हुन् । सहकारीमा हाल पाँच सय १८ सेयर सदस्यमध्ये चार सय ६९ सदस्य बाख्रापालनमा आश्रित छन् । एकै व्यक्तिले २५ माउ बाख्रासम्म पाल्ने गरेको पाइएको छ । बाख्रापालनबाट एक सदस्यले कम्तिमा रु एक लाख देखि सात लाख सम्म वार्षिक कमाई गर्न सफल भएका छन् ।

सदस्यलाई मध्यनजर गर्दै गाउँबाटै सहकारीले एउटा निश्चित दरभाउ कायम गरी जिउँदो खसी बोका तौलेर रु दश सहकारीमा राखेर बजार पठाउने कार्यले बजारीकरणको समस्या झेल्नु परेको छैन । तौलको आधारमा मूल्य भने फरक फरक कायम गरिएको छ ।

बीस किलोसम्मको खसीलाई प्रतिकिलो रु तीन सय ६० मा, २० किलो देखि ३० किलो सम्म रु चार सय २० मा, ३० देखि ३६ किलो सम्म रु चार सय ५० मा बिक्री गर्ने गरिएको छ ।

त्यस्तै ३६ किलो देखि ४० किलोसम्म रु चार सय ८० मा, ४० किलो देखि ५० किलो सम्म रु पाँच सय, ५० किलो देखि माथिको तौल भएका खसी बोकालाई रु पाँच सय ४० प्रतिकिलो मूल्य कायम खरी खरिद गर्ने गरेको सहकारीका व्यवस्थापक दिलमाया राना बताउँछिन् ।

त्यस्तै बीऊ पाठी प्रतिकिलो तीन सय ४०, ब्याडे बोका पाँच सयमा खरिद गर्ने गरिन्छ । सहकारीले खरिद गरेको सो मूल्यमा प्रतिकिलो केही रकम लिएर बजारमा बिक्री गर्ने गरेको व्यवस्थापक रानाले जानकारी दिइन् ।

उनका अनुसार सहकारीमा गत आर्थिक वर्षमा नौ सय ९८ वटा खसी बोका खरिद बिक्रिबाट रु दुई लाख ५८ हजार आम्दानी भएको छ । यस आर्थिक वर्षको चैत मसान्त सम्ममा एक हजार २१ वटा खसी बोका खरिद बिक्रीबाट रु दुई लाख भन्दा बढी आम्दानी भइसकेको छ ।

गतवर्ष एक हजार दुई सय बाख्रा खरिद बिक्री गर्ने लक्ष्य राखेको सहकारीले यस आर्थिक वर्षको असार मसान्त भित्रमा एक हजार चार सय खसी बोका खरिद बिक्री गर्ने योजना बनाएको छ ।

सहकारीले गाउँका पाँच स्थानमा खसी बोका खरिद बिक्री संकलन केन्द्रमार्फत् नवलपुरको कावासोती, पोखरा, पाल्पाको रामपुर बजारमा खपत गर्दै आएको छ । निस्दी गाउँपालिकाको वडा नं ५ गल्धालाई मात्र कार्यक्षेत्र बनाएर काम गरिरहेको सहकारीले अब वडा नं ३ झिरुवास र वडा नं ६ अर्चलेसम्ममा क्षेत्र बिस्तार गर्ने योजना बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।