सहकारी ठगीमा लामिछानेमाथि तत्काल अनुसन्धान गर्नुपर्छ– गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले करोडौँ सहकारीमा ठगी गरेका तत्कालीन गृहमन्त्री लामिछानेमाथि तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका हुन् ।
तत्कालीन प्रमुख प्रतिपक्ष दलको सांसदको हैसियतमा लेखकले लामिछानेले पोखराको सूर्यदर्शन सहकारीबाट करोड रुपैयाँ बुझिलिएको प्रमाण पेश गरेको उल्लेख गर्दै महामन्त्री थापाले सोही प्रमाणको आधारमा उनीमाथि छानबिन गर्नुपर्ने बताए । उनले जतिसुकै शक्तिशाली भए पनि सरकारले अनुसन्धानको दायरामा ल्याएर आफू को हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने पनि बताए ।
थापाले प्रतिपक्षमा रहँदा गिरीबन्धु टि स्टेट, भुटानी शरणार्थी प्रकरणमा घोटाला देख्ने तर सत्तामा आएपछि देख्दै नदेख्ने काम सरकारले गर्न नहुने पनि दोहोर्याए ।









