एमाले–कांग्रेस गठबन्धनको सरकार अर्को निर्वाचनसम्म कायम रहन्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले–कांग्रेस गठबन्धनको सरकार अर्को निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ४२औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित ‘वीपी कोइराला र वर्तमान राष्ट्रिय राजनीति’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेसँगको सहमति कार्यान्वयनका सवालमा कांग्रेस अनुसाशित रहेको बताए ।
एक राजनीतिक दलले कुनै अर्को राजनीतिक दललाई ढाट्ने, झुक्याउने र धोका दिने परिपाटीकाबीच दुई ठुला दल एक ठाउँमा आएको उल्लेख गर्दै अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्ने बताए । उनले भने, ‘एमाले–कांग्रेसले गरेको सम्झौताको एक बुँदामा स्थिर सरकार दिने भनेका छौं । देश निकै अस्थिर सरकारमा गिजोलिरहेको अवस्थामा देशका दुई ठूला दल मिल्यो भने २०८४ सालसम्म तलमाथि गर्दैनौं भनेर भन्यौं । एकले अर्कालाई ढाट्ने, झुक्याउने र धोका दिने परिपाटीकाबीच दुई दल एक ठाउँमा मिलेका छौं । अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्दछ । म नेपाली कांग्रेसको जिम्मा लिएर भन्छु सरकार निर्माणका क्रममा नेकपा एमालेसँग भएका सहमतिमा नेपाली कांग्रेसको तर्फबाट केही पनि तलमाथि हुदैन । अहिलेको दुई वर्ष एमाले अध्यक्ष केपी ओलीज्यूको नेतृत्वमा सरकार बनाउने भनिएको छ । हामीले लोप गरेर, चकचक गरेर अथवा हाम्रो कारणले तलमाथि हुदैन ।’
त्यस्तै महामन्त्री थापाले वि.स.२०४८ सालदेखि २०५१ सम्मको ती वर्षको अवधीमा कांग्रेस नेतृत्वको सरकारले देशमा औद्योगीकरणको सुरुवात भएपनि माओवादी जनयुद्धले उद्योग निर्माणमा पूर्णविराम लगाएको बताए । भारतभन्दा पहिले नै नेपालले उदारिकरणको बाटो समातेको भएपनि बीचमा बनेका सरकारको मति ठिक नभएका कारण औद्योगीकरण हुन नसकेको बताए ।









