पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिकै बस दुर्घटना, १४ जना घाइते
काठमाडौँ ।पूर्वपश्चिम राजमार्गको पसाहा पुल नजिकै आज बिहान १० बजेतिर बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मलंगवाबाट पर्साको बीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाराको पसाह खोला नजिकै पल्टिँदा १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए ।
भारी वर्षा भइरहेको समयमा तीव्र गतिमा रहेको बसले ओभरटेक गर्न खोज्दा पल्टिन पुगेको प्रहरीले अनुमान गरेको छ ।
दुर्घटनामा घाइते भएकामध्ये रौतहटको बिन्दावन नगरपालिका १ बस्ने ४२ वर्षीय संझा देवीको अवस्था गम्भीर रहेको छ । छातीमा चोट लागेको हुँदा प्राथमिक उपचारपछि सिमरा सरकारी अस्पतालबाट उनलाई ब्योधा अस्पताल पर्सामा रिफर गरिएको छ ।
यस्तै दुर्घटनामा घाइते भएका १४ जनामध्ये तीन जनाको अवस्था सामान्य रहेको बताइएको छ । बाराको निजगढ नगरपालिका ०९ बस्ने ३६ वर्षीय तिरजा उपरेती, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४८ वर्षीय रामबाबु चौधरी र बाराको जीतपुर सिमरा उपमहानगरपालिका ३ बस्ने २० वर्षकी लक्ष्मी घिसिङको अवस्था सामान्य रहेको छ ।
त्यस्तै बाराको निजगढ नगरपालिका ९ बस्ने २८ वर्षीय रविन तामाङ, सोही स्थानका ३१ वर्षीय लरेन्स लामा, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ बस्ने ४० वर्षीय नवराज आचार्य, बाराको जीतपुर सिमरा उपमहानगरपालिका ३ बस्ने २२ वर्षीय आशा तामाङ, बाराको कलैया उपमहानगरपालिका १३ बस्ने २५ वर्षीय रिकदेव प्रसाद यादव, रौतहटको गरुडा नगरपालिका ९ बस्ने ३३ वर्षीय लालबुबा दास, सोही स्थानका २४ वर्षीय कैलाश यादव, सोही स्थानका ३२ वर्षीय राम उदगर साह, सोही स्थानका १७ वर्षीय राकेशकुमार यादव र बाराको जीतपुर सिमरा उपमहानगरपालिका १४ बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारीको अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले बसका सहचालक सर्लाही मलंगवा नगरपालिका १० बस्ने २८ वर्षीय राकेशकुमार शाहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकेको छ भने बस चालक सर्लाहीको मलंगवा नगरपालिका ९ बस्ने ४५ वर्षीय जयनारायण महतो फरार रहेका छन् । बसमा २५२६ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको सिमरास्थित सिमरा सरकारी अस्पतालमा उपचार भइरहेको छ ।









