ब्लडमनी तिर्न नसकेर दुबईको जेलमा मृत्युदण्ड सुनाइएका नेपालीको उद्धारमा जुटौं : रामहरि खतिवडा
काठमाडौं । दुबईमा मृत्युदण्डको सजाय सुनाइएका दुई नेपालीका विषयमा सांसदले सरकारको जवाफ मागेका छन् । पहलमान मगर र भुवन श्रेष्ठ ब्लडमनी तिर्न नसकेर दुबईको जेलमा छन् । कांग्रेस सांसद रामहरि खतिवडाले ब्लडमनी ५० लाख रुपैंयाँ तिरेर उनीहरुलाई नेपाल ल्याउने पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद खतिवडाले साथीलाई अस्पताल लैजाने क्रममा निधन भएपछि सोही केसमा मृत्युदण्डको सजाय सुनाइएका मगर र श्रेष्ठको उद्धारका लागि सरकारले जतिसक्दो चाँडो पहल गनुपर्नेमा जोड दिए ।खतिवडाले भने, ‘ओखलढुंगा चिसंखुगढी–३ दियालेका भुवन श्रेष्ठ र धादिङ निवासी पहलमान मगर पाँच वर्षदेखि यूएईको दुबईमा मृत्युदण्ड पर्खेर बसिरहनुभएको छ । उहाँहरु नवलपरासीको साथी बाबुराम आलेलाई हस्पिटल लाने क्रममा आलेलाई मारेको अभियोगमा पाँच वर्षदेखि जेलमा छन् । त्यो केसमा ५० लाख ब्लडमनी नदिएदेखि यही मार्च महिनामा मृत्युदण्ड दिने फैसला दुबईको दुवै सरकारले सुनाएको छ ।’
सरकारले दुवै जनाको ब्लडमनी तिरिदिएर उनीहरुलाई नेपाल ल्याउनुपर्नेमा खतिवडाले जोड दिँदै भने, ‘ती दुई अबोध नागरिकलाई ब्लडमनीको व्यवस्था गरेर तुरुन्त नेपाल ल्याउने व्यवस्था गरिदिन अनुरोध गर्दछु ।’
यस्तै, खतिवडाले उनीहरुको बारेमा फागुन १० गनेको सदनमा पनि विषय उठाएर सरकारको ध्यानाकर्षण गराइसकेका थिए । उनले व्यक्तिगत रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलाई भेटेरै सो विषयमा जानकारी गराएको स्मरण गराउँदै इजरायल–हमास द्वन्द्वमा हमासको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको अवस्था, युक्रेन–रसिया युद्धमा परेका नेपालीको अवस्थाबारे पराराष्ट्रमन्त्रीको जवाफ माग गरे ।









