image
image
विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउन वर्तमान सरकार क्रियाशील छ : परराष्ट्र मन्त्री

विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउन वर्तमान सरकार क्रियाशील छ : परराष्ट्र मन्त्री

 

काठमाडौं, २ असोज । परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउन वर्तमान सरकार क्रियाशील रहेको बताएका छन्।

नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले विदेशमा रहेका नेपालीको केवल ज्ञान, सीप र पुँजीमात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार रहेको प्रस्ट पारे।

गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने र त्यसरी चुनिएर आएको एकत्रित तथा बलियो संस्थाले मात्र विदेशमा बसेका नेपालीहरूको प्रतिनिधित्व गर्ने भएकाले यही भावनाअनुसार काम गर्न मन्त्री साउदले आग्रह गरे।

उनले विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृह मन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख गरेका छन्। मन्त्री साउदले विदेशमा बसेका नेपालीहरूको पासपोर्ट, भिसालगायतका समस्या सम्बोधन गर्न मन्त्रालयको साङ्गठनिक संरचनामा केही सुधारको पहल भइरहेको जानकारी दिए।

'अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुकमा बसेर तपाईंहरूले यहाँ हासिल गर्नुभएको प्रजातान्त्रिक संस्कृति, संस्कार र व्यवहारलाई नेपालमा लैजानु पर्छ। तपाईंहरू विकसित र प्रजातान्त्रिक देशमा बसेर यहाँ जुन प्रक्रिया र प्रणाली अङ्गीकार गर्नुभएको छ त्यसको अभ्यास नेपालमा पनि गरिनुपर्छ,' उनले भने।

अमेरिकालगायत विश्वका विभिन्न देशमा रहेको दक्ष जनशक्तिलाई नेपाल भित्र्याएर लगानीको वातावरण सृजना गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।

'यहाँहरूसँग योजना छ। दुःख गरेर लगानी गर्न सक्ने हैसियत पनि बनाइसक्नु भएको छ। विदेशमा रहेका नेपालीसँग त्यहाँको विकास मोडलको ज्ञान पनि छ। त्यसैले सरकार त्यस्ता नागरिकलाई स्वदेशमा भित्र्याएर उनीहरूको ज्ञान र लगानीको सदुपयोग गर्न प्रतिबद्ध छ,' उनले भने।

अमेरिकाको विकासको आधारशिला कति पुरानो छ भन्नेमा हेक्का राख्दै यहाँको राजनीतिक प्रणालीले आत्मसाथ गरेका मूल्य पद्धतिहरू चिरस्थायी भएर अहिलेसम्म पनि कतिपय नीति अपरिवर्तनीय भएर बसेको र त्यो कुरा नेपाली राजनीतिज्ञले पनि बुझ्न जरुरी रहेको साउदले बताए। 'राम्रा कुरा चिरस्थायी हुनुपर्छ। राम्रा नीतिमाथि प्रहार भइरहनु हुँदैन। अमेरिकाको राजनीतिका राम्रा पक्ष हामीले पनि आत्मसाथ गर्नुपर्छ। त्यसो गर्दा नेपालका राजनीतिक चुनौती समाधान गर्न आधार मिल्ने छ,' उनले भने।

देश निर्माणका लागि सबै नागरिकको उत्तिकै भूमिका हुने बताउँदै मन्त्री साउदले पुजी भएका र कुनै क्षेत्रका दक्ष व्यक्ति मात्र नभएर देश बाहिर रहेका सबै नागरिकलाई स्वदेश फर्किने माहौल सृजना गर्न समेत वर्तमान सरकार लागि परेको उनको भनाइ थियो।

समितिका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्वमन्त्री जितेन्द्र देबले पनि आफ्नो धारणा राखेका थिए। कार्यक्रममा न्यूयोर्कमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारीहरूको उलेख्य सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।