image
image

आजदेखि घर–घरमा मेलम्ची

काठमाडौँ, चैत १५ गते । लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाइने भएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भन्नुभयो, “सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटर पानी काठमाडौँ पठाइन्छ, त्यसमध्ये काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले केही पानी पुरानो पाइपलाइनबाट वितरण गर्छ भने केही पानीबाट नयाँ पाइपलाइन परीक्षण र सफाइ हुनेछ ।” उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न करिब एक हप्ता लाग्ने छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भन्नुभयो, “यो पाइपको परीक्षण मात्र हो, पिउन मिल्दैन । परीक्षणपछि प्रशोधन गरेर पठाएपछि मात्रै पिउन मिल्छ ।” गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते आयोजनाको फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा जल प्रवाहको शुभारम्भ गर्नुभएको थियो । शुक्रबार वितरण केन्द्रमा पठाइएको पानी थोक वितरण प्रणाली पाइपलाइन ‘फ्लस’ गर्दै चाबहिलनजिक धोबीखोलामा खसालिएको थियो ।

संरचना परीक्षण गरिँदै
यो आयोजनाको काम सम्पन्न भइसकेको छैन । पानीको मुहान मेलम्ची खोलामा ‘हेडवक्र्स’ निर्माण भइरहेको छ । अस्थायी विकल्प प्रयोग गरी पानी पथान्तरण गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भन्नुभयो “अहिले सबैतिर परीक्षण हुन्छ, पानी पठाउँछौँ, वर्षात्मा हामी सुरुङको परीक्षण गर्छौं, प्राविधिकको सल्लाहले नै अहिले पानी वितरण गर्न लागिएको हो ।” हाल पानी प्रशोधन केन्द्र, पाइपलाइन, वितरण केन्द्र (ट्याङ्की) परीक्षणका लागि पानी वितरण गरिएको समितिले जनाएको छ ।

अधिकांश निर्माण पूरा
मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले उपत्यकामा एक हजार १० किलोमिटर पाइपलाइन निर्माण गर्नुपर्नेमा ९८० किलोमिटर सम्पन्न गरेको छ । थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किलोमिटर सम्पन्न भइसकेको छ । पानी वितरणका लागि उपत्यकामा १० वटा वितरण केन्द्र (ट्याङ्की)मध्ये एउटा भक्तपुर कटुञ्जेको ट्याङ्कीबाहेक नौवटा सम्पन्न भइसकेका छन् ।

यी १० वटै केन्द्र (पोखरी)मा ७४ हजार पाँच सय घनमिटर पानी सङ्कलन हुन्छ । भल्ब च्याम्बर एकदेखि चारसम्मका प्याकेजमा २२२ मध्ये २१० वटा निर्माण भइसकेका छन् । निर्देशनालयले एक लाख दुई हजार ५७४ धारा जडान गर्नुपर्नेमा हालसम्म ७५ हजार धारा जडान गरिसकेको छ । पानी प्रशोधन गर्न करिब छ अर्ब २९ करोड रुपियाँको लगानीमा प्रशोधन केन्द्र निर्माण भइरहेका छन् । आयोजना निर्देशनालयले पाँचवटा प्रशोधन केन्द्रमध्ये एउटा सम्पन्न गरेको छ । बाँकी चारवटाको काम आधा भएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।