राजनीतिक मात्रै होइन सामाजिक कार्यक्रममा पनि देखिँदैनन् बादल
काठमाडौं असार २२ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली साउन ८ मा कम्बोडियाबाट फर्किए। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेता ओलीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे।
तर उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ कतै देखिएनन्। उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेजस्तै बादल पनि अनुपस्थित हुनु एक संयोगमात्रै थियो? थिएन। किनभने यस्ता थुप्रै घटना छन्। जहाँ एमालेका अरु नेता छन्, बादल छैनन्।
तत्कालीन नेकपा विवादका बेलामा ओली पक्षको कार्यक्रममा बादल
बादल राजनीतिक दृश्यमा देखिन छाडेको भर्खरै होइन। मंसिर ४ को प्रतिनिधि सभाको निर्वाचनका बेला एमालेले गरेका चुनावी सभामा पनि बादल गुमनाम बने। ओली र एमालेका अरु शीर्ष नेता चुनावी सभा सम्बोधनमा हिँडे। तर बादल गएनन्।
चुनावमा प्रतिस्पर्धा गर्ने आकांक्षा नै बादलले नराखेका भने होइनन्। चितवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनाव लड्नेबारे बादल स्वंमले मुख खोलेका थिए। ‘आगामी दिनमा पार्टीले निर्णय गरे प्रचण्ड भर्सेस् बादल पनि हुन सक्छ,’ २०७८ असोज ८ मा बादलले भरतपुर विमानस्थलमा भनेका थिए।
बादल प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नै भएनन्। प्रचण्डले पनि गोरखाबाट चुनाव लडे। बादल निकटस्थहरुका अनुसार उनले प्रत्यक्षमा चुनाव लड्नै चाहेनन्, बरु समानुपातिकबाट सांसद हुन चाहे। तर त्यो एमालेमा सहज भएन।
माओवादी छोडेर एमालेमा लागेका बेला बादललाई सार्वजनिक कार्यक्रममा पनि रोचकताका साथ हेरिन्थ्यो। मदन भण्डारीको फोटोमुनि बादल
बादलपत्नी नैनकला थापाको नाम समानुपातिक सूचीमा पर्यो।
चुनावलगतै एमालेले मिसन ग्रासरुट अभियान चलायो। नेतालाई गाउँसम्मै खटाइयो। शीर्ष नेताले पनि विभिन्न ठाउँमा पुगेर सम्बोधन गरे। तर बादल देखिएनन्।
पार्टी कमिटीका बैठक बाहेकका गतिविधिमा पनि बादल सहभागी छैनन्। ओली र अरु नेता अहिले पनि एमाले र भातृ संगठनका कार्यक्रममा दिनहुँ सहभागी भइरहँदा बादल भने गुमनाम छन्।
अहिले सिनमा देखिन छोडेका बादल तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालमा भने चर्चित रहे। उनी ओली सरकारमा गृहमन्त्री मात्रै थिएनन्, नेकपाको शक्तिशाली सचिवाल सदस्य पनि थिए।
राष्ट्रिय सभा सदस्य भएका बादल नेकपाको विवादका बेलामा माझधारमा देखिए। तर निर्णायक अवस्थामा ओलीतिर लागे। आफ्नो टिममा रहेका महत्वपूर्ण नेता माओवादी केन्द्रमा लाग्दा पनि बादल भने केही नेतासहित एमालेमा सक्रिय बने।
राष्ट्रिय सभाको उपनिर्वाचनमा ओलीले बादललाई उम्मेदवार बनाएका बेला। उनी चुनावमा पराजित भए।
सांसद पद खारेजै हुने अवस्थामा पनि बादलले एमाले छाडेनन्। एमाले अध्यक्ष ओलीले पहिलोपटक संसद् विघटन गर्नुअघि प्रचण्डले बादललाई उनकै निवासमा पुगेर विघटनमा नसघाउन आग्रह गरेका थिए। तर बादलले मानेनन्।
उनी लगायत माओवादीबाट एमालेमा प्रवेश गरेका नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतको सांसद पद गुम्यो। बादललगायत एमालेमा रहेका माओवादी पृष्ठभूमिका नेतालाई पार्टीमा फर्काउन माओवादी केन्द्रले गृहकार्य गर्यो। त्यसमा पनि बादललाई माओवादीमा फर्किन प्रचण्डले पटकपटक पार्टी बैठकबाटै पनि आह्वान गरेका थिए ।
रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन्। उनको सचिव र सांसद पद निलम्बन भएको छ। साहले चुनावकै बेला एमाले छाडे। उनी स्वतन्त्रबाट सांसद बने। मंसिर ४ को चुनावमा भट्ट पराजित भए।









