वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो
काठमाडौँ, ३, फागुन । कपिलवस्तुमा ८१ हजार ८१५ जना रोजगारका लागि विदेशिएका छन्। अघिल्लो आर्थिक वर्षको तथ्याङ्कअनुसार वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ८१ हजार नाघेको छ। गत वर्ष कपिलवस्तुका २२ जना वैदेशिक रोजगारीका क्रममा मृत्यु भई शव आएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्क रहेको छ।
स्विस विकास संस्था ‘हेल्भेटास’का कार्यक्रम संयोजक सनतप्रसाद सापकोटाले नेपालबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ६४ लाख नाघेको बताउनुभयो। लुम्बिनी प्रदेशमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आठ लाख ६० हजार ७८५ जना रहेको बताइएको छ। आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिई जानेको सङ्ख्या छ लाख ३० हजार ९० रहेको छ। यसमा महिलाको सङ्ख्या ४९ हजार १२८ (आठ प्रतिशत) रहेको जनाइएको छ।
अघिल्लो आवमा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या हालसम्मकै बढी हो। आव २०७७/७८ मा वैदेशिक रोजगारीमा मृत्यु हुनेको सङ्ख्या एक हजार २४३ र अङ्गभङ्ग भएका १४३ जना थिए।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जिल्लाका सबै पालिकामा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन जोड दिई प्रशिक्षण दिँदै आएको छ। कार्यक्रमले वैदेशिक रोजगारीमा गएका, रहेका, फर्किएका र तिनका परिवारलाई लक्षित गरी सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकासका तालिम,
मनोसामाजिक परामर्श र वित्तीय साक्षरताको कार्य गरेको जिल्ला परियोजना व्यवस्थापन समितिका सदस्यसचिव हरिप्रसाद ज्ञवालीले बताउनुभयो।
स्विस सरकार विकास सहयोग (एसडीसी)को सहयोगमा १५ जिल्लाका ६० र २३ जिल्लाका ९६ स्थानीय तहमा नेपाल सरकारको ससर्त बजेटबाट सामी कार्यक्रम सञ्चालनमा छ।









