ठगी गर्नेलाई कडा कारबाही गर्ने मन्त्रालयको चेतावनी
काठमाडौँ, २४, माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाँदा सरकारी दस्तुरबाहेक कसैलाई कुनै पनि प्रकारको शुल्क बुझाउनु नपर्ने स्पष्ट पारेको छ ।
व्यक्तिगत श्रम स्वीकृतिमा यूएईलगायतका खाडी मुलुक र त्यहाँबाट युरोपका देशसहित अमेरिका र क्यानडामा आकर्षक तलबसहितको वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी भएका घटना सार्वजनिक भइरहेका छन् । त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाँदा सरकारी दस्तुरबाहेक कसैलाई कुनै पनि प्रकारको शुल्क बुझाउनु नपर्ने र कसैले भ्रम र दबाबमा पारेर गैरकानूनीरूपमा रकम माग गरेमा तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गरेको छ ।
त्यसैगरी मन्त्रालयले वैदेशिक रोजगारमा पठाउन इजाजतपत्र प्राप्त व्यवसायीले समेत कानूनी एवम् नीतिगत व्यवस्थाको परिपालना गरी पेशागत इमानदारिताका साथ काम गर्न आग्रह गरेको छ ।
मन्त्रालयले देशभित्र मात्रै नभई वैदेशिक रोजगारमा गएकै सिलसिलामा समेत नेपालीले नेपालीलाई र रोजगारदाताले समेत नेपाली श्रमिकलाई ठगी गर्ने गरेको विषयमा पनि गुनासो र उजुरी आइरहेको बताएको छ । मन्त्रालयले नेपाल सरकारबाट भएको नीतिगत, कानूनी र प्रक्रियागत व्यवस्थाको बर्खिलाप ठगी गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
यसअघि वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले विभिन्न कारणले वैदेशिक रोजगार व्यवसायीमाथि बाह्य दबाब बढेकाले गम्भीर हुन व्यवसायीहरूलाई सुझाव दिएका थिए ।
महानिर्देशक आचार्यले कन्सल्ट्यान्सी, ट्राभल्स व्यवसायी मात्रै नभएर महानगरपालिकामा दर्ता भएका तालिम प्रदायक संस्थाले वैदेशिक रोजगारका नाममा व्यक्तिगत ठगी गर्ने प्रवृत्तिले वैदेशिक रोजगारको ठगी हो वा होइन छुट्याउन नै धेरै गाह्रो भएको बताएका छन् ।









