image
image

इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियामा सुधार गरिँदै

काठमाडौँ, २०, माघ । जीटुजीमार्फत इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियामा सुधार गरिने भएको छ । इजरायलले थप कामदार माग गर्दै आएको सन्दर्भमा प्रक्रिया सुधार गर्न लागिएको हो । हाल गइरहेका सहायक कामदार (केयरगिभर) को कामप्रति इजरायली कम्पनीहरू सकारात्मक देखिएका छन् । जसले गर्दा उनीहरूले थप कामदारको डिमाण्ड गर्दै आएका छन् । 

त्यसका लागि नेपाली र इजरायली अधिकारीहरूबीच पटक पटक छलफल भइरहेको छ । १ फेब्रअरीमा मात्रै इजरायली अधिकारीहरूसँग जुम मार्फत कुराकानी भएको थियो । उक्त छलफलको क्रममा नेपाली अधिकारीहरूले छनौटमा परेका केयरगिभरहरू अहिलेसम्म इजरायल जान नपाउनेको विषयमा कुराकानी गरेका थिए । त्यस्तै कामदार छनौट प्रक्रियामा छिटो, सरल र सहज बनाउने विषयमा समेत छलफल भएको थियो । 

वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवारले छिटो भन्दा छिटो कसरी कामदार छनौट र पठाउने सकिने भन्ने विषयमा छलफल भएको बताए । ‘३/४ विषयमा कुराकानी भयो । कामदार छनोटको प्रक्रिया लामो भयो कसरी छिटो पठाउन सकिन्छ भन्ने विषयमा छलफल भयो । त्यस्तै कुन कुन क्षेत्रमा कामदार पठाउन सकिन्छ भन्ने विषयमा समेत कुरा भयो,’ निर्देशक सुनुवारले भने ।  
इजरायलले थप केयरगिभर पनि माग गरेको छ । त्यस्तै कृषि क्षेत्रका लागि एक हजार जना कामदार माग गरेको थियो । कामदार छनौट प्रक्रियामा हुने गरेको ढिलाइ, छनौटमा परेका कामदार लैजान भइरहेको ढिलाइलगायतका विषयमा छलफल भएको निर्देशक सुनुवारले बताए । 
छिटो भन्दा छिटो कसरी कामदार पठाउन सकिन्छ भन्ने विषयमा छलफल भएको उनको भनाइ छ । ‘कामदार छनौट प्रक्रिया निकै लामो र झन्झिटिलो भयो यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा हाम्रो तर्फबाट राखेको थियौँ । त्यसमा के के सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो,’ निर्देशक सुनुवारले भने । 

अरु क्षेत्रमा पनि कामदार पठाउने विषयमा अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको अवस्था छ । उक्त कार्यदलले अध्ययन प्रतिवेदन सरकारलाई बुझाएपछि थप गृहकार्य अगाडि बढ्नेछ । 
गत वर्षको माघबाट केयरगिभरलाई इजरायल लैजान थालिएको थियो । तर, अहिलेसम्म पनि सबैलाई लैजान सकिएको छैन । छनौटमा परेका सबै कामदारलाई पठाउन ढिलाई भइरहेको विषयमा नेपाली पक्षले इजरायली अधिकारीसँग प्रश्न गरेका थिए । जवाफमा उनीहरूले सबै कुरा आफ्नो हातमा नहुने र कम्पनीहरूले आवश्यकताको आधारमा कामदार बोलाउँदा ढिलाई भएको बताएका थिए । 

अबका प्रक्रियालाई छिटो र छरितो हुने गरी अगाडि बढ्नुपर्नेमा दुवै पक्षमा एकमत रहेको निर्देशक सुनुवारले बताए ।  हालसम्म छनौटमा परेका १ हजार १७५ मध्ये अहिलेसम्म १ हजार १९ जना कामदार इजरायल पुगेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।