माछापालनबाट मनग्य आम्दानी
काठमाडौँ, २९, मंसिर । कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले माछा व्यवसाय अगालेका छन् ।नगरलाई समृद्ध बनाउने सपना साकार पार्न नै उनले व्यवसाय गरिरहेका छन् ।
जनप्रतिनिधि सबैले आ–आफ्नो व्यवसाय गर्न जरुरी रहेको उनको बुझाइ छ । उनी नगरपालिकाकै वडा नम्बर ९ सेहरीमा ९ बिघा जमिन भाडामा लिएर माछा व्यवसाय सञ्चालन गरिरहेका छन् ।
‘डोटीस्थित निरौली विद्यालयको जग्गा हो । विक्रम संवत् २०७८ सालमा जग्गाको सम्झौता गरेर काम शुरू गरेका थियौं,’ उनले भने, ‘हामी दाजुभाइ मिलेर यो काम गरिरहेका छौं । निर्वाचनका कारण केही ढिलाइ हुँदा माछा हाल्न ढिला भयो, अहिले आधा माछा निकालिसकेका छौं, केही अझै निकाल्न बाँकी छ ।’
उनले आफूले माछापोखरी पनि फरक तरिकाले निर्माण गरेको बताए । ‘यसमा जेसीबी प्रयोग गरेको भए ८ देखि १० लाख कम खर्चमा पोखरी निर्माण गर्न सकिन्थ्यो,’ उनले भने, ‘हामीले ट्रयाक्टर प्रयोग गरेर नयाँ प्रविधिबाट निर्माण गरेका छौं । यसले पोखरी दीगो बन्न मद्दत गर्छ ।’ उनले यस वर्ष केही ढिलो हुँदा सबै पोखरीमा माछा राख्न नसकेको बताए ।
उनले राजनीतिलाई सेवाका रूपमा बुझी स्वयं आत्मनिर्भर बन्ने लक्ष्यका साथ माछा व्यवसाय शुरू गरेको बताए । २०७८ सालमै सञ्चालनमा ल्याइएको बीपी एग्रिगेट एग्रो फर्ममार्फत उनले माछा व्यवसाय शुरू गरेका हुन् । नगर प्रमुख हुनु अगावैदेखि सञ्चालनमा ल्याइएको फर्ममा उनले विभिन्न जातका माछा उत्पादन गरी बिक्रीवितरण गर्ने योजना बनाएका छन् ।
‘यो सबै जमिनमा माछापोखरी बनेका छन्, यहाँ प्रायः जसो सबै प्रकारका माछा उत्पादन हुनेछन्,’ उनले भने, ‘सानो पोखरीमा हामीले पङगास जातको माछा राखेका छौं, यो माछा चारो मात्रै खाएर हुर्किने गर्छ, यसलाई वर्षको २ पटकसम्म उत्पादन गर्न सकिन्छ ।’
उनले फागुनदेखि ९ बिघामा निर्माण गरिएका सबै पोखरीमा पूरै क्षमतामा माछाका भुरा राख्ने बताए ।









