कतारमा ‘हय्या कार्ड’ लिएकाले भिसा परिवर्तन गरी काम गर्न पाउने, नेपाली कर्मचारी भन्छन्– ‘हामी हय्या कार्ड जान्दैनौं’
काठमाडौँ, २१, कार्तिक । कतारमा नोभेम्बर १ अघि भिजिट भिसामा आई ‘हय्या कार्ड’ भएका व्यक्तिले भिसा परिवर्तन गर्न पाउने भएका छन् । भिजिट भिसावाहक त्यस्ता विदेशीले कतारको राहदानी निर्देशनालय केन्द्र वा आन्तरिक मन्त्रालयको सेवा विभागमा गएर भिजिट भिसालाई ‘फ्यान भिसा’ बनाउन पाउने छन् । भिसा परिवर्तन गरेपछि सन् २०२३ को जनवरी २३ सम्म कतारमा बस्न पाइनेछ । त्यसको लागि अतिरिक्त पाँच सय रियाल शुल्क लाग्ने बताइएको छ ।
कतारमा हय्या कार्ड वाहकलाई अर्गनाइजर र फ्यान भिसा गरी दुई वर्गमा विभाजन गरिएको छ । फ्यान भिसावाहक विदेशीले रंगशालाको प्यारापिटमा बसेर फुटबल हेर्नुपर्ने छ भने अर्गनाइजर भिसावाहक विदेशीले प्यारापिटमा कम्पनीको तर्फबाट चिसो पेय पदार्थ, पप कर्न लगायतको व्यापार गर्न पाउनेछन् । उनीहरूलाई वर्क पर्मिट कामदारको वर्गमा राखिएको छ ।
कतारले विश्वकप फुटबलको अवसरमा हय्या कार्डमार्फत विदेशी कामदार लिने गरेको छ । गएको नोभेम्बर १ देखि विश्वकप प्रतियोगिताको अवधिभर कतार प्रवेश गर्न अनिवार्यरुपमा हय्या कार्डको व्यवस्था गरिएको छ । कतारले हय्या कार्डबाट नै सबै प्रकारका भिसा जारी गर्ने गरेको छ । तर नेपाली अधिकारीहरूले भने हय्या कार्डलाई नेपालको वैदेशिक रोजगार कानूनले नचिन्ने तर्क गर्दै अर्गनाइजर भिसावाहकहरूलाई श्रम स्वीकृति नदिएको बताइएको छ ।
विश्वकप प्रतियोगिता शुरु हुन तीन हप्ताभन्दा कम समय बाँकी रहँदा कतारले दर्शक स्वागत गर्न शुरु गरिसकेको छ । विश्वकप हेर्न आउने दर्शकलाई हय्या इन्ट्री परमिट मात्र आवश्यक पर्ने आन्तरिक मन्त्रालयले बताएको छ ।
गएको हप्ता मन्त्रिपरिषदको बैठकद्वारा पारित भएको निर्णय बमोजिम दर्शकले कतार आउँदा कुनै पनि किसिमको कोरोना परीक्षण गर्नु नपर्ने र यसअघिको एह्तेराज एपमा पूर्व दर्ता, अनिवार्य मास्कको नियम, भ्याक्सिनको प्रमाणपत्र लगायतको नियम खारेज गरिएको छ ।
विश्वकप हेर्न आउने नेपालीले आफ्नो इमेल आइडीमा प्राप्त भएको हय्या इन्ट्री परमिटको ‘ए फोर’ साइजको कलर प्रिन्ट दुई प्रति, हवाई टिकट र कम्तिमा ६ महिना म्याद भएको राहदानी भए पुग्ने बताइएको छ ।









