५ डलरको अभिमुखीकरण तालिमप्रति चौतर्फी प्रश्न
काठमाडौँ, ५, असोज । वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगारमा जानुभन्दा अघि लिएको तालिमको प्रभावकारिताका विषयमा नेपाल र मलेसिया दुबैतर्फ प्रश्न उठेको छ ।
वैदेशिक रोजगार ऐनको दफा २७ ले वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगारमा जानुभन्दा अघि विभागबाट तोकिएका ऐनको दफा २८ बमोजिम अनुमतिपत्र प्राप्त गरेको संस्थाबाट तोकिए बमोजिम अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गरेपछि विगतदेखि नै विभागमा सूचीकृत अभिमुखीकरण संस्थाले प्रस्थान पूर्वको तालिम दिँदै आएका छन् ।
तालिमको प्रभावकारिताका विषयमा स्वयं अभिमुखीकरण व्यवसायी, वैदेशिक रोजगारीमा जाने कामदार र सरकारी अधिकारी सन्तुष्ट देखिँदैनन् । यस विषयमा नेपालमा व्यापकरूपमा छलफलसमेत भएपनि पुनरावलोकन हुन सकेको छैन ।
मलेसियाका रोजगारदाताले नेपाल र मलेसियाबीचको श्रम सम्झौताको कार्यान्वयन गर्न थालेपछि यो विषय अहिले नेपालभन्दा बाहिर पुगेको छ । नेपाल र मलेसियाबीच सन् २०१८ मा सम्पन्न श्रम सम्झौताले कामदारको लागत रोजगारदाताले व्यहोर्नुपर्ने उल्लेख गरे अनुसार सम्झौता कार्यान्वयन गरिरहेका मलेसियाका आरविए समूहमा पर्ने कम्पनीले नेपाली कामदारको राहदानीदेखि स्वास्थ्य परीक्षण, भिसा शुल्क र हवाई टिकट तथा अभिमुखीकरण तालिमको शुल्क फिर्ता दिने गरेका छन् ।
अभिमुखीकरणको तालिम शुल्क ७ सय रूपैयाँ मात्रै छ । जुन रकम मंगलबारको विनिमय दर अनुसार ५.४५ अमेरिकी डलर हुन आउँछ । नेपाल अभिमुखी व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले ‘साढे पाँच डलरको शुल्कमा तालिम !’ भन्दै मलेसियाका रोजगारदाता नपत्याएर छक्क पर्ने गरेकोे बताउँछन् । शुल्क कम हुँदा कामदारको दक्षतामा नै विदेशी रोजगारदाताले शंका गरी प्रश्न उठाएको गौतमको भनाइ छ ।
‘तालिमको अवधि र शुल्क दुबै बढाएर बदलिँदो विश्वपरिवेश र मागअनुसार तालिमको प्रभावकारिता वृद्धि गर्न पटक–पटक मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत अन्य सरकारी निकायको ध्यानाकर्षण गराएपनि आफ्नो कुरा कसैले नसुनिदिने र उल्टो गुणस्तरीय तालिम भएन भनेर अभिमुखीकरण व्यवसायीको आलोचना गर्ने गरिएको छ,’ उनले भने ।









