image
image

स्वदेशमा केही सीप नलागेपछि वैदेशिक रोजगार

काठमाडौँ, २९, भदौ ।  सुर्खेतको पश्चिम चौकुने गाउँपालिका–२ लगामका बुद्धिमान बोहरालाई वैदेशिक रोजगारीमा जाने र मनग्य कमाउने सोच नआएको होइन । विदेशमा भन्दा स्वदेशमै केही न केही उद्यम गर्नुपर्छ भन्ने बलियो सोचले नै उनले स्वदेशमै केही गर्ने अठोटका साथ कागज उद्योग शुरु गरे । 

उनले २०७५ सालमा सुर्खेतकै पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा सिर्जना नेपाली हाते कागज उद्योग सञ्चालनमा ल्याए । दुई रोपनी जग्गा भाडामा लिएर रु सात लाखमा नेपाली कागज उद्योग सञ्चालन गरेका उनले आठ जनालाई रोजगारीसमेत दिएका थिए । उद्योगका लागि चाहिने कच्चा पदार्थ दैलेख र कालीकोटबाट ल्याउनुपथ्र्यो । शुरुवाती चरणमा उद्योग राम्रै चलेको बुद्धिमान बताउँछन् । उनले भने, ‘शुरुमा रु सात/आठ लाख ऋण लिएर उद्योग शुरु गरें । उद्योगले राम्रै आम्दानी दिइरहेको थियो । सुर्खेत र नेपालगञ्ज नेपाली कागजको बजार राम्रो थियो ।’ 

उद्योगबाट मासिक रु ६० हजारदेखि डेढ लाखसम्म नाफा दिइरहेको बताए । स्थापनासँगै आठ जनालाई रोजगारी दिएको उद्योगले महिनामै रु दुईदेखि तीन लाखसम्म कारोबार गर्दै आएको पनि बुद्धिमानले बताए । 

लोक्ता हाते कागजको कच्चा पदार्थ हो । लोक्तालाई पकाएर कागज उत्पादन गर्ने गरिन्छ । लेकाली जंगलमा पाइने बरुवा नामक बिरुवाको बोक्रालाई लोक्ता भनिन्छ । यसैबाट नेपाली कागज तयार हुन्छ । पछिल्लो समय सामुदायिक उपभोक्ता समितिले सामुदायिक वन क्षेत्रमा लोक्ता संकलनमा रोक लगाइदिएपछि उनको उद्योग फस्टाउन सकेन । कच्चा पदार्थ अभाव हुन थालेपछि महँगोमा किन्नुपर्ने अवस्था आएको र उद्योगको नाफा विस्तारै घट्दै जान थालेको पनि उनले बताए ।

कच्चा पदार्थ अभाव हुन थालेपछि नेपाली कागज उत्पादनमा समस्या पर्दै जान थालेको बुद्धिमानको भनाइ छ । उनले भने, ‘शुरुवातको दुई वर्षसम्म उद्योगले कच्चा पदार्थ राम्रै पाइरहेको थियो । विस्तारै वन समितिले लोक्ता संकलन गर्न नदिएपछि कच्चा पदार्थ अभाव हुन थाल्यो । कच्चा पदार्थ महँगियो । कच्चा पदार्थ अभावसँगै उत्पादन पनि घट्न थाल्यो । यता कागजको मूल्य भने अहिले पनि बढेको छैन । यसले उद्योग दिन प्रतिदिन घाटातर्फ गइरह्यो ।’ 

एकातिर कच्चा पदार्थको अभाव छँदै थियो, अर्कोतिर कोरोना संक्रमणले सबैतिर अस्तव्यस्त बनाइदियो । कोरोनाकै कारण उद्योग सञ्चालनमा समस्या पर्न थालेपछि ऋणको जोहोमा चारैतिर भौतारिँदा पनि कहीँकतैबाट ऋण नपाउँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बुद्धिमानको गुनासो छ । ‘सञ्चालनको शुरुवातमा त ठीकै थियो, कोरोनापछि उद्योग निरन्तर घाटामा जान थाल्यो,’ बुद्धिमानले भने, ‘कोरोनाको दोस्रो लहर शुरु भएपछि कच्चा पदार्थको अभाव, आर्थिक स्रोत र बजारीकरणले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आयो ।’ 

उद्योगबाट राम्रै आम्दानी गर्न सकिने सम्भावना रहे पनि लगानीको अभावमा उद्योग बन्द गर्नुपरेको उनी बताउँछन् । उनले उत्पादित कागज बिक्री गर्न टाढा लिनुपर्ने झन्झटिलो प्रक्रिया, लगानीअनुसारको प्रतिफल नआउनु, पर्याप्त मात्रामा औजार नहुनु, समयमा कच्चा पदार्थ नपाइनु, ढुवानीको समस्यालगायतका कारणले उद्योग सञ्चालमा समस्या आएको बताए । उनका अनुसार जाजरकोट, दैलेख, कालीकोटका जङ्गलमा पाइने लोक्ताको पनि अभाव भयो । 

उनको उद्योगबाट नोटबुक, डायरी, फोटोकपी पेपर, ए फोर साइज पेपर, गिफ्ट बक्स, गमलालगायत नेपाली हाते कागजका आकर्षक सामग्री उत्पादन हुने गर्दथ्यो । हाल कागज बनाउनका लागि महँगो र कोरोनाका कारण बजारको व्यवस्था नभएपछि उद्योग बन्द गरेको बताउँदै उनले भने, ‘न चाहिएको बेला कच्चा पदार्थ आउँछ, न कतैबाट अनुदान पाइयो, उद्योग सञ्चालन गर्न मुस्किल परेपछि बन्द गर्न बाध्य भएँ ।’ स्थानीय, प्रदेश तथा केन्द्र सरकारले वितरण गर्ने अनुदानसमेत टाठाबाठाले पाउने गरेको उनको गुनासो छ ।

स्थानीय तथा प्रदेश तहमा बारम्बर धाइरहँदा पनि उद्योगलाई कुनै सहयोग नभएको उनको भनाइ छ । स्वरोजगारमूलक तथा परम्परागत लघु घरेलु तथा साना उद्यमलाई सरकारले प्रोत्साहन गर्न नसकेको उनको गुनासो छ । अनुदान र ऋणका लागि सम्बन्धित निकायमा जाँदा पनि कमिसनमा मोलमोलाई हुने गरेको उनको तीतो अनुभव छ । अनुदान माग्दा हाकाहाकी यति र उति प्रतिशत भन्दै कमिसन माग्ने भेटिएको उनको अनुभव छ । कोरोना महामारीका कारण उद्योगमा परेको प्रभावले अहिले बुद्धिमान विदेशिने तयारीमा छन् । कोरोनाका कारण दोस्रो पटकको बन्दाबन्दीका कारण उद्योग पूर्णरुपमा बन्द गर्नुपरेको उनले बताए । ‘कतैबाट ऋण तथा अनुदान नपाएपछि अहिले विदेश जाने तयारी गरेको हुँ ।’ 

उद्योगको ऋण र परिवार पाल्नकै लागि विदेशिन बाध्य भएको सुनाउँदै गर्दा उनले कागज उद्योग बन्द गरेर रोजगारी दिएका सबैलाई बिदाइसमेत गरिसकेका छन् । कच्चा पदार्थको भाउ बढ्दा पनि कागजको भने मूल्य नबढ्नुले उद्योग सञ्चालनमा कठिनाइ भएको उनको अनुभव छ । चार वर्ष पहिला र अहिलेको कागजको मूल्य एउटै भए पनि कच्चा पदार्थको मूल्य आकाशिएको उनको भनाइ छ । 

नेपाली कागज उत्पादनका लागि सरकारले दिने अनुदानसमेत वास्तविक उद्यमीले पाउन नसक्दा आफूजस्ता उद्यमी विदेश पलायन हुनुपर्ने अवस्था आएको उनको अर्को गुनासो छ । साना तथा घरेलु उद्योग महासंघका अनुसार कर्णालीमा करिब १७ हजार साना तथा घरेलु उद्योग छन् । तीमध्ये मुस्किलले १० प्रतिशत उद्योग मात्र नियमित सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।