श्रमनन्त्रीसँग श्रमिकहरुले पोखे गुनासो
काठमाडौँ, २०, भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारसँग जोडिएर मन्त्रालय आउने कामदारका गुनासहरु तत्काल सम्बोधन गर्ने गरेको बताएका छन् । मन्त्रालयमा स्थापित वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रममन्त्री’ अन्तर्गत आइतबार दोस्रो कार्यक्रममा मन्त्री कुँवरले उक्त जानकारी दिएका हुन् ।
श्रमिकसँग प्रत्यक्ष फोनमा कुराकानी गर्दै मन्त्री कुँवरले श्रम मन्त्रालयसँग सम्बन्धित गुनासाहरूको तत्काल सुनुवाइ भइरहेको बताए । मन्त्री कुँवरले आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत स्वदेश र विदेशबाट आएको दश जना श्रमिकको फोन रिसिभ गरेका थिए ।
मन्त्री कुँवरलाई झापाबाट फोन गर्ने श्रमिकले दक्षिण कोरिया जानका लागि भाषा परीक्षा पास गरेर पनि जान नपाएको विषयमा गुनासो सुनाउँदै जवाफ मागेका थिए भने साउदी र मलेसियाबाट फोन गरेका दुई युवाले कम्पनीले काम नदिएको र आफू बिरामी भएर अस्पतालमा उपचार गराइरहेको गुनासो गरेका थिए । गुनासा समाधानका लागि मन्त्री कुँवरले सम्बन्धित निकायलाई तत्काल पहल गर्न आग्रह गरे ।
यस्तै गत वैशाख २ गते साउदीमा दुर्घटनामा परी सुरेन्द्र प्रसाद साहको मृत्यु भएको र उनको शव नेपाल ल्याउन पहल गरिदिन मन्त्री कुँवरलाई आग्रह गरिएको छ । कार्यक्रममा मन्त्री कुँवरलाई श्रमिकहरुले फोन गर्दै केही म्यानपावरहरुले भनेअनुसार विदेशमा आफूले काम नपाएको गुनासो पनि गरेका छन् ।
श्रमिकसँग मन्त्री कुँवरले विदेशमा रहेका श्रमिकहरुका समस्या र गुनासाहरुप्रति आफू गम्भिर रहेको र समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको बताए ।
‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।









