वैदेशिक रोजगारका नाममा ठग्ने तीन पक्राउ
काठमाडौँ, ३१, साउन । आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिने भन्दै रकम लिई ठगी गरेकोे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । खोटाङको बाह्रपोखरी देवथान स्थायी ठेगाना भई हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका ३५ वर्षीय प्रकाश राई १ करोड ३७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
उनले रसुवा गोसाइकुण्ड, ठूलोस्याप्रुका निमा काल्तेन तामाङलगायत १६ जनालाई वर्किङ भिसामा नेदरल्यान्डस् पठाइदिने भन्दै १ करोड ३६ लाख ५० हजार रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएको अवस्थामा पक्राउ गरेकोे प्रहरीको दाबी छ ।
यसअघि आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले सिजलन भिसामा बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा इलाम नारायणटारका प्रकाश राई र दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा सिन्धुपाल्चोक सुनकोशी खाडिचौरका अविनाश कार्कीलाई पक्राउ गरेको थियो ।
राईले सिजलन भिसामा बेलायत पठाइदिन्छु भनी प्रति व्यक्ति ९ लाख रुपैयाँ लाग्ने बताएर पाँच जनाबाट तीन–तीन लाख रूपैयाँका दरले १५ लाख रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।
कार्कीले दुबई पठाइदिने भन्दै दैलेखका एक युवाबाट ७ लाख ५० हजार रुपैयाँ लिई दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाइदिने भनी प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले बताएको छ ।
प्रहरीले उनीहरू तीनै जनालाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाएको छ ।









