अब वैदेशिक रोजगारका समस्या समाधान उच्च प्राथमिकतामा : अर्थमन्त्री शर्मा
काठमाडौँ, २०, साउन । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमार्फत प्राप्त हुने रेमिट्यान्सले ठूलो योगदान दिने भएकोले यस क्षेत्रमा रहेका समस्याको दीर्घकालीन समाधानका लागि आफुले उच्च प्राथमिकतामा राखेर पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यावसायी संघले बुधबार नवनियुक्त अर्थमन्त्री शर्मालाई अर्थमन्त्रालयमा भेटी बधाई तथा कार्यकाल सफलताको शुभकामना दिने क्रममा संघका संयोजक बिमलप्रसाद ढकालले वैदेशिक रोजगार क्षेत्रमा लामो समयदेखि समाधान हुन नसकेका विविध समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए ।
संघले राखेका समस्याहरू सुनेपछि अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगार क्षेत्रले पु¥याएको योगदान तथा यस क्षेत्रमा रहेका विविध समस्याका बारेमा आफू पूर्णरूपमा जानकार भएकोले समस्या समाधान गर्न ढिलाइ नगरी उच्च प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता जनाएको संयोजक ढकालले जानकारी दिए ।
संयोजक ढकालले सरकारले अध्ययन बिना वैदेशिक रोजगारमा कामदार पठाउन नै फ्रि भिसा फ्रि टिकटको निर्णय लागू गरेको तर त्यसको व्यवहारमा सही कार्यान्वयन हुन नसकेको कारण समस्या उत्पन्न भएको बताएका थिए ।
संयोजक ढकालले भने, ‘वैदेशिक रोजगारमा जाने कामदारले दश हजार रूपैयाँको मात्र रसिद पाउने, पठाउने म्यानपावर व्यवसायीले आर्जन गरेकोे रकम बैकिङ प्रणालीमा जम्मा गर्न नपाउने तथा राजस्व प्राप्ति गर्ने सरकारले राजस्व उठाउन नपाएको अवस्था उत्पन्न भई तीनवटै पक्ष समस्यामा रहेकोले यसमा नेपाल सरकारले नै सकेसम्म छिटो उचित निर्णय लिनुपर्ने सुझाव पनि दिएका छौं । मन्त्रीज्यूले संघसँग जीवन्त सम्बन्ध कायम गर्ने आश्वासन पनि दिनुभएको छ ।’
त्यसका लागि आफूले वैदेशिक रोजगारीमा कामदार पठाउने दक्षिण एशियाली मुलुकमा लागू भए सरह कामदारले एक महिनामा पाउने तलब बराबरको रकम सेवाशुल्क वापत लिन पाउने वैधानिक व्यवस्था गरिनुपर्ने सुझाव समेत राखेको भन्दै संयोजक ढकालले फ्रि भिसा फ्रि टिकट भनिए पनि रोजगारदाता कम्पनीले जहाज टिकट दिन नसकेको अवस्थामा कामदार आफैं टिकट काटेर जाने अवस्था भए नेपालमा आकर्षक तलब र सुविधाका डिमाण्ड आउने अवस्था रहेको विषयमा पनि अर्थमन्त्री शर्माको ध्यानाकर्षण गराएको बताए ।
यसका अतिरिक्त वैदेशिक रोजगार ऐनमा रहेका अव्यवहारिक समस्या समाधानका लागि ऐन संशोधनका लागि सकारात्मक भूमिका खेलिदिन समेत आग्रह गरेकोे ढकालले जानकारी दिए ।
संयोजक ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा संघका पूर्वअध्यक्षहरु दिलप्रसाद पोख्रेल र प्रेम कटुवाल तथा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनका अध्यक्ष कुमुद खनाल र सल्लाहकार चिरञ्जीवी बस्याल तथा संघका कार्यालय सचिव अरुण अर्याल रहेका थिए ।









