प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको राजीनामा माग
काठमाडौँ, ३१, जेठ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले करका दरहरुमा तलमाथि गरेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा एमालेका उपाध्यक्षसमेत रहेका सांसद सुरेन्द्र पाण्डेले समय माग गर्दै अर्थमन्त्री शर्माले संसद्मा बजेट प्रस्तुत गर्नुअघि करका दरहरुमा तलमाथि गरेको भन्ने समाचार सार्वजनिक भएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।
बैठक प्रारम्भ हुने बित्तिकै उनले बजेट निर्माणको सिलसिलामा अनधिकृत मान्छेहरुसँग साँठगाँठ गरी करका दरहरुमा तलमाथि पारिएको भन्ने समाचार सार्वजनिक भएकोप्रति ध्यानाकर्षण गराउँदै अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
‘यति गम्भीर कुरा आएपछि पनि अर्थमन्त्रीले संसद्मा आएर आफ्ना कुरा प्रस्ट पार्नुभएन,’ पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘करका दरबारे तलमाथि भएको भन्ने कुरा धेरै प्रतिपक्ष र सत्तापक्षका सांसदले उठाइसक्नुभएको छ, यति प्रश्न उठिसकेपछि अर्थमन्त्री पदमा बसिरहन मिल्छ ?’
उनले बजेट प्रस्तुत गर्न आगाडि करका दरहरुमा छलफल गर्ने बेलामा मन्त्रीबाहेक सचिव र अन्य कर्मचारीले समेत टेलिफोनमासम्म सम्पर्क गर्न नमिल्ने बताए ।









