अनलाइनबाट संस्थागत श्रम स्वीकृति सुरु
काठमाडौँ, २, वैशाख । वैदेशिक रोजगार कार्यालय, काठमाडौंले आजदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृतिको काम गर्न थालेको छ।यो व्यवस्थासँगै म्यानपावर व्यवसायी वा उनिहरुका प्रतिनिधिको भौतिक उपस्थिति विना नै संस्थागत श्रम स्वीकृतिको काम हुनेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्र हुने व्यवस्थाको शुभारम्भ गर्नुहुदै सूचना प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रुपमा गुनासो रहित सेवा प्रदान गर्ने मन्त्रालयको प्राथमिकता भएको बताउनुभयो।मन्त्रालयका सचिव एकनारायण अर्यालले बाध्यतावस कामका लागि विदेश जाने व्यक्तिलाई उत्प्रेरित गराएर पठाउने गरी छिटो, छरितो र पारदर्शी सेवाप्रवाह गर्न सरकारले यस्तो व्यवस्था मिलाएको बताउनुभयो।
कार्यालय प्रमुख रमेश अर्यालले श्रम स्वीकृतिलाई छिटो छरितो गर्न सेवाप्रवाहका ४ चरणलाई घटाएर २ चरणको बनाइएको जानकारी दिनुभयो।गत माघ देखि पुनः श्रम स्वीकृतिको काम अनलाईनबाट मात्र गर्दा कार्यालयमा हुने दैनिक १ हजार बढीको भिडभाड हटेको छ।
कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ।पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्र गरेसँगै छिटै नै व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाईनबाट हुने गरी काम भैरहेको कार्यालय प्रमुख अर्यालले बताउनुभयो । चालु आर्थिक वर्षको चैत्रसम्ममा पुनः श्रम स्वीकृतितर्फ २ लाख ११ हजार, संस्थागततर्फ २ लाख ३० हजार र व्यक्तिगततर्फ २३ हजार जना भन्दा बढीले सेवा लिएको कार्यालयले जानकारी दिएको छ









