image
image

घटे नेपाल आउने विदेशी कामदार

काठमाडौं । नेपालमा रोजगारीका लागि विभिन्न मुलुकबाट आउने नयाँ विदेशी कामदारको संख्या घटेको पाइएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नयाँ विदेशी कामदारको संख्या ३५ दशमलव ६ प्रतिशतले घटेको पाइएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ। 

विभागका अनुसार माघ मसान्त (७ महीना) सम्म ५०४ जना नयाँ विदेशी कामदारले नेपालमा काम गर्न श्रमस्वीकृति लिएका छन् । गत आवको सोही अवधिमा भने ७८३ जना नयाँ विदेशी कामदार रोजगारीका लागि नेपालमा आएका थिए ।

यस्तै यस अवधिमा नेपालमै कार्यरत ७९३ जना विदेशी कामदारले आफ्नो श्रमस्वीकृति नवीकरण गराएका छन् । गत आवको सोही अवधिमा ६२९ जनाले आफ्नो श्रमस्वीकृति नवीकरण गराएका थिए । गत आवभर भने १ हजार ९१ जनाले नयाँ श्रमस्वीकृति र ९५९ जनाले श्रमस्वीकृति नवीकरण गराएको विभागको तथ्यांकमा उल्लेख छ ।

हाल नेपालमा भारत, चीन, अमेरिका, अस्ट्रेलियालगायत ८० भन्दा बढी देशका १६ हजार ३७८ जना कामदार कार्यरत छन् । नेपालमा सबैभन्दा बढी कामदार चीनबाट आएको श्रम विभागको भनाइ छ । यी औपचारिक रूपमा श्रमस्वीकृति लिएर नेपालमा काम गर्दै आएका कामदार हुन् । दक्षिण छिमेकी मुलुक भारतका कयौं कामदार श्रमस्वीकृति नलिई नेपालको विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । नेपालमा जलविद्युत् आयोजना, पाँचतारे होटेल, विदेशी स्वामित्वका बैंक तथा बीमा कम्पनी, विमान कम्पनी, गैरसरकारी संस्थालगायत क्षेत्रमा विदेशी कामदार रहेका छन् । उनीहरूले नेपालबाट अर्बाैं रुपैयाँ रेमिट्यान्स (विप्रेषण) लैजाने गरेका पनि छन् । विशेषगरी यसपटक कोरोनाका कारण विदेशी कामदारको आगमन घटेको बताइएको छ ।

नेपालमा चिनियाँ कामदारहरूको अंश बढी छ । विशेषगरी नेपालको जलविद्युत् आयोजनामा चिनियाँहरू प्राविधिक जनशक्तिका रूपमा आउने गर्छन् । तर, कोरोनाका कारण विगत १ वर्षदेखि नै चिनियाँ कामदार आवश्यक मात्रामा नेपाल आउन सकेका छैनन् । यस्तै, कोरोनाका कारण पाँचतारे होटेल, पर्यटन उद्योगलगायत क्षेत्र प्रभावित हुँदा पनि त्यस्ता क्षेत्रमा पहिलाको जस्तो नयाँ विदेशी कामदार मगाउन नसकिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।