image
image

झि–टोड्के पदमार्ग र उद्यान निर्माण सुरु

काठमाडौँ २७ कात्तिक । म्याग्दीको रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण सुरु भएको छ । रघुगङ्गा गाउँपालिकाले वडा नम्बर–५ मा पर्ने झिँ गाउँदेखि टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण सुरु गरेको हो । वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले जिम्मा लिएको निर्माण कम्पनीले झिँदेखि टोड्के जोड्ने पदमार्ग निर्माण सुरु गरेको जानकारी दिए । “गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा ठेक्का प्रक्रियाबाट पदमार्ग निर्माण गर्न लागेका हौँ”, उनले भने, “झिँ हुँदै टोड्के जाने आउने पर्यटकलाई सुरक्षित र सहज यात्राका लागि पदमार्गलगायत पूर्वाधार बनाउन लागिएको हो ।”

सो सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत असारमा बेनीको खुसी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित रु ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कूल लागत अनुमान रु एक करोड एक लाख गरिएको थियो । कम्पनीका सञ्चालक मनोज कार्कीले हालसम्म एक सय मिटर भन्दा बढी पदमार्ग निर्माण भइसकेको जानकारी दिए । उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुई वटा प्रतीक्षालय र दृश्यावलोकन गर्ने स्थलसहितको उद्यान बनाउने योजना छ । 

पदमार्गमा ४१० मिटर रेलिङ बनाउने लक्ष्य छ । विसं २०७८ फागुन महिनाभित्र पदमार्ग र उद्यान निर्माण गरिसक्ने सम्झौता रहेको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिए । उनका अनुसार ढुङ्गा बिछ्याइने उद्यान परिसरमा पर्यटक बसेर दृश्यावलोकन गर्ने स्थल पनि बनाउन लागिएको छ । 

पदमार्ग निर्माण भएपछि समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा अवस्थित टोड्केमा झिँ हुँदै दृश्यावलोकन गर्न जान सहज हुने, यात्रा अवधि र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ । पाखोको चिप्लो र भिरालो तथा साँघुरो कच्ची पदमार्गमा चिप्लिएर लड्ने समस्या थियो । गुराँसको जङ्गलको बीचमा अवस्थित टोड्केबाट सुर्योदय, धौलागिरि, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । 

टोड्केलाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । धौलागिरि सेञ्चुरी पदमार्गको प्रवेश बिन्दुमा पर्ने टोड्केमा स्वर्गद्वारी आश्रमको शाखा र शिव मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावनासमेत छ । 


यस वर्ष पदमार्ग र उद्यानका अलावा झिँ हँुदै टोड्के जोड्ने सडक स्तरोन्नति र टोड्केमा हाइअल्टीच्युड खेलमैदान निर्माण गर्न ठेक्का आह्वान भइसकेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । यसअघि गण्डकी प्रदेश सरकारको सहयोगमा टोड्केको फेदीमा पर्ने झिँ गाउँमा सामुदायिक घरबास सञ्चालन भएको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।